पर्सा । पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भई प्रहरी चौकी कचोवा बारामा कार्यरत थिए ।

गिरीको शव शनिबार उनको साथीको कोठामा फेला परेको डीएसपी खनालले बताए । प्रहरीका अनुसार गिरी शुक्रबार बेलुका ६ बजेतिर घरबाट निस्किएका थिए । भोलिपल्ट शनिबार राति पोखरिया–४ पोखरीया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र बेहास अवस्थामा फेला परेका थिए । गिरीकै भाइ प्रहरी जवान अरविन्द गिरीले आफ्नो दाइलाई बेहोस अवस्थामा फेला पारी उपचारका लागि नारायणी अस्पताल वीरगन्जमा लगेका थिए । अस्पतालमा पुर्याइए पनि तत्कालै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीले हालसम्म गिरीको मृत्युको कारण खुलाइसकेको छैन ।डीएसपी खनालले गिरी मृत फेला परेको घरमा बस्ने दुई जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलासा गरिसकेको छैन ।
‘शवको बाहिरी चोटपटक केही देखिएको छैन, पोस्टमार्टमका लागि पठाएका छौं,’ उनले भने, ‘अब भिसेरा परीक्षण लगायत गरेपछि मृत्युको कारण खुल्नेछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !