काठमाडौं । सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई बजारमा सिटामोल औषधिको अभाव हुन नदिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले कोरोना महामारीका बेला सहज रुपमा सिटामोल औषधि उपलब्ध हुने व्यवस्था मिलाउन संघ र प्रदेश सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
केही दिनअघि टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
कोरोना महामारीका समयमा बजारमा सिटामोल औषधि अभाव हुनु जनतालाई स्वास्थ्यमा पाउनुपर्ने आधारभूत अधिकारबाट बञ्चित गरिएको भन्दै कुँवरले सर्वाेच्चमा रिट दायर गरेका थिए । उनले सामान्य कोरोनाको समयमा बजारमा सिटामोल औषधिको समेत अभाव हुँदा सरकार मूकदर्शक बन्नु संविधानकै खिल्ली उडाइएको रिटमा उल्लेख गरेका छन् ।
मंगलबार उक्त रिट निवेदनमाथि न्यायाधीश शर्माको इजलासले सिटामोलको अभाव हुनुमा कारण देखाउन भन्दै बजारमा सिटामोल अभाव हुन नदिन आदेश दिएको छ । यस सन्दर्भमा सर्वाेच्चले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्नु पर्ने या नपर्ने भन्नेबारे छलफल गर्न डाकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !