दाङ । ५० लाख ठगी मुद्दामा पक्राउ परेका दाङ घोराहीका विकाश पुनको मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंक घोराही शाखाका म्यानेजर पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानको क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शाखा कार्यालयबाटै म्यानेजर विष्टलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले विष्टलाई बिहान कार्यालयबाट पक्राउ गरिएको बताए ।
उनले ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको जानकारी दिए । ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत् पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेकाले विष्टमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि फेरि उपस्थित हुने गरी आइतबार हाजिरी जमानतमा छाडिएको प्रहरीले जनाएको छ ।
लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिन अघि मात्रै सिआईबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । कपिलबस्तु जिल्लाको बाणगंगा-४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनलाई काठमाडौंमा पक्राउ गरेको थियो ।
घोराही उपमहानगरपालिका-१५ का पुनविरुद्ध कपिलबस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरिहरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !