महेन्द्रनगर । नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी अशोक शाहीलाई सेवाबाट बर्खास्त गरेको छ । २५ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले शाहीलाई सैनिक अनुशासन विपरीत कार्य गरेको ठहर गर्दै सेवाबाट बर्खास्त र एक महिना कैदको फैसला गरेको हो ।

सेनाले २२ कात्तिकमा चिसापानीमा भएको घटनाको अनुसन्धानका लागि २५ नम्बर बाहिनीकै महासेनानीको कमाण्डमा तत्काल कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो । कोर्ट अफ इन्क्वाइरी टिमले स्थानीय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुतप्रमाण र मेजर शाहीको बयानपछि प्रतिवेदन बुझाएको थियो ।
घटनाका दिन मेजर शाही नजिकको चिसापानी बजारमा आफ्नो वा ०१–००२६च ३४६१ नम्बरको गाडी चलाएर पुगेका थिए । उनी चिसापानीस्थित लुक होटलका जानुपर्नेमा हर्कबहादुर रावलले संचालन गरेको संगम होटल पुगेका थिए । मेजर शाहीको संगम होटलका संचालक तथा त्यहाँ रहेका ग्राहकसँग भनाभन भएपछि उनी इलाका प्रहरी कार्यालय चिसापानीमा पुगेका थिए ।
सैनिक प्रतिवेदन अनुसार इप्रकाका प्रहरी निरीक्षकलाई तत्काल होटल संचालकलाई कारबाही गर्न टोली खटाउन निर्देशन दिएपछि उनको अवस्था हेरेर हाल शिक्षालयमै फर्कन आग्रह गरिएको उल्लेख छ ।
घटनास्थलको बयान जाहेरीमा नेपाल प्रहरीका निरीक्षकले हजुर अहिले त्यहाँ जाने अवस्था छैन्, समाजमा गलत असर पर्छ, भोली के गर्ने हो त्यही गरौला भन्ने आग्रहलाई बेवास्ता गर्दै मेजर शाही त्यहाँबाट बाहिरीएका थिए ।
इप्रकाबाट बाहिरीएका मेजर शाहीले त्यसपछि शिक्षालय फर्किएर डिउटीमा रहेका एक जनालाई हतियार सहित लिएर चिसापानी पुगेका थिए । कोर्ट अफ इन्क्वाइरीले प्रहरीसँग लिएको बयानमा उसले मेजर शाहीको गाडी कार्यालयको पर्खालमा ठोक्किएको, सुरुमा कार्यालय आएको, अत्याधिक मदिरा सेवन गरेको बताएको छ ।
प्रहरी र स्थानियले कोर्ट अफ इन्क्वाइरीमा मेजर शाहीले घटनाका दिन राती सर्वसाधारणमाथि हतियार तेर्साएपछि उनीमाथि कुटपिट भएको बताएका छन् । प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो ।

















