काठमाडौं। भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टका प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरले १४ करोड रुपैयाँ बैंक ग्यारेन्टी बुझाएपछि आफ्नो देश फिर्ता भएका छन्। उनले पर्यटन मन्त्रालयमा बैंक ग्यारेन्टी बुझाएपछि अमेरिका उडेका हुन्।रिसोर्टभित्र एचएलएल म्यानेजमेन्ट प्रालिले क्यासिनो संचालन गरेको थियो।

त्यो क्यासिनो वापतको १३ करोड रोयल्टी तिर्नुपर्ने देखिएपछि पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा अमेरिका जान लागेका सिइओ बोल्सोभरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो।
बैंक ग्यारेन्टी बुझाएपछि उनी अपरान्ह ४.४०को कतार एयरलाइन्सको फ्लाइटमा न्युयोर्क उडेका छन्। उनी नियन्त्रणमा लिनुलाई कर्पोरेट गेमप्लानको रुपमा समेत हेरिएको छ।
वित्तीय रुपमा टाट पल्टिएपछि अष्ट्रेलियाको लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले भैरहवास्थित टाइगर प्यालेसलाई बिक्रीमा राखेको धेरै भइसक्यो। यो होटल किन्न धेरै पार्टीबीच सम्झौता समेत भइसकेको छ। तर नेपालमै रहेको एउटा समूहले होटल बिक्री गर्न नदिन विभिन्न तिकडम गर्दै आएको स्रोतले बतायो।
त्यही समूहले बोल्सोभरलाई नियन्त्रणका लागि मन्त्री आलेसम्मलाई उक्साएको स्रोतले बतायो। ‘विदेशी लगानीकर्तालाई ह्यारेस गरेर होटल हत्याउन सबै किसिमको हर्कत भइरहेको छ।
त्यही योजना अनुसार मन्त्री आलेलाई समेत प्रयोग गरिएको हो,’ स्रोतले भन्यो, ‘पाँच अर्बको पोपर्टी यही भएको कम्पनिको सिइओलाई नियन्त्रणमा लिनुपर्ने कुनै कारण छैन।’यो होटल किन्न नेपालका नाम चलेका व्यापारिक समूह ईच्छुक थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !