काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मी सुन चोरी पैठारीमा मुछिएका पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीईओ रेग्मीमाथि छानविन गरिरहेको छ, त्यसक्रममा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले रेग्मी सुन चोरी पैठारीमा दोषी ठहर भएको जानकारी गराएको हो ।

भन्सार कार्यालयले मन्त्रालयलाई लेखेको पत्रअनुसार रेग्मीले ७ पुस २०७४ मा कतार एयरवेजको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारका तीन थान सुन ल्याएका थिए, जसमध्ये ३० ग्राम सुन अवैध थियो ।त्यही दिन रेग्मीविरुद्ध भन्सार कार्यालयमा मुद्दा दर्ता भयो, जसको २१ भदौ २०७७ मा फैसला आयो ।
फैसलामा पर्यटन बोर्डका सीईओ रेग्मीले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गर्दै १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना तोकिएको छ ।

















