काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यही पुस १८ गते ५० लाख रुपियाँ नगदसहित सौर्य एयरका दुई कर्मचारी रेशा शाक्य र प्रकाश पौड्याललाई पक्राउ ग-यो । विराटनगरबाट काठमाडौँ आएको ‘एसएयू–७२४’को उडानमार्फत चाउचाउको कार्टोनमा लुकाएर ल्याएको रकमको स्रोत खुलेको छैन ।

सौर्य एयरले उक्त रकम टिकटबापतको भनी दाबी गरेको छ तर विराटनगरमा बैङ्क नै नभएजस्तो गरेर विमानबाट ओसार्नुपर्ने अवस्थाबारे प्रहरीले आशङ्का गरेको छ । राजस्व अनुसन्धान विभागले यसको अनुसन्धान गरिरहेको छ ।
त्यसको चार दिनपछि पुस २२ गते प्रहरीले धनुषा लक्ष्मीनिया गाउँपालिका–१, सिनुरजोडाका अमितकुमार यादवलाई ३८ लाख ३५ हजार रुपियाँसहित पक्राउ ग¥यो । प्रदेश–२–०२००१ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्याङ्कीमा भारतबाट लुकाएर ल्याउँदै गरेको रकमबारे अनुसन्धान भइरहेको छ ।
यी घटनाअघि गत कात्तिक २४ गते काठमाडौँ र भक्तपुरको सीमास्थित मनोहराबाट ८० लाख रुपियाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त रकम हुन्डीमार्फत जापानबाट आएको खुल्यो । गत असोज ८ गते पनि काठमाडौँको नागढुङ्गाबाट ९५ लाख रुपियाँसहित भारतीय नागरिक सागर सीताराम लोखण्डे र कृष्ण आदातेलाई प्रहरीले पक्राउ गरेको थियो । त्यो अवैध रकम तस्करीको सुन खरिदमा प्रयोग भएको खुल्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !