काठमाडौं । सत्तारूढ ५ दलीय गठबन्धनले आगामी निर्वाचनसम्म यो गठबन्धन कायम राख्नेगरि गृहकार्य थालेको छ । गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले आगामी प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये ६५ सिटमा मात्रै तालमेल गर्नेगरि गृहकार्य थालेको एक नेताले जनाएका छन्।

पछिल्लो समय सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतले आगामी निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिईरहेका छन् । तर, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने चुनावमा पनि गठबन्धन गरिने अभिव्यक्ति दिईरहेका छन् ।
१ सय ६५ सिटमध्ये ६५ सिटमामात्रै ५ दलबीच गठबन्धन गर्ने शीर्ष नेताहरुको तयारी छ । बाँकी एक सय सिटमा भने एक्लाएक्लै लडिने ती नेताले जनाए । शीर्ष नेताहरुको तहमा भएको ६५ सिटको भागबण्डामा भने कांग्रेसले २४, नेकपा (माओवादी केन्द्र) ले २०, नेकपा (एकीकृत समाजवादी) ले १५, जनता समाजवादी पार्टी, नेपालले ५ र जनमोर्चाले १ सिटमा प्रतिष्पर्धा गर्नेछन् । सबै दलका शीर्ष नेताहरुले अहिले चुनावलक्षित अभियान चलाउनसमेत थालिसकेका छन् ।
नेपाललाई जनसंख्या र भौगोलिक अनुकुलता तथा विशिष्टताका आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित भएका १ सय ६५ जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित भएका १ सय १० जना गरी कूल २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभा रहेको छ।

















