चितवन । चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप भएको छ । सिडिओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरि सिडिओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।चितवनका माछा व्यापारी तामाङविरुद्ध खनिएका छन् ।

व्यवसायीहरुले सीडीओले पदको दुरुपयोग गर्दै आफूहरुलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदी र केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले सोमबार एक विज्ञप्ति जारी गरेर आसमान तामाङको व्यक्तिगत स्वार्थका कारण संघका उपाध्यक्ष तुलाराज तामाङको चितवन फिस हाउसमा पदीय मर्यादा विपरितको क्रियाकलाप भएको भन्दै निन्दा गरिएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार सरकारी गाडी लिएर आइतबार तामाङकी श्रीमती दिउँसो ३ बजेतिर जिल्ला अध्यक्ष सुवेदीको फार्ममा पुगेकी थिइन् । पोखरीबाट झिकेको माछा चितवन फिस हाउसले खरिद गरी गाडीमा लोड गरीसकेको अवस्थामा पनि पोखरीकै दरमा चितवन फिस हाउसले उनलाई रु ३०० प्रति किलोका दरले बिक्री गरेको थियो । तर पछि बेलुका साँझ ६ बजेतिर प्रजिअकै नेतृत्वमा रिजाल चोकस्थित चितवन फिस हाउसमा प्रहरी प्रशासनसहित आएर व्यावसायी तामाङलाई गाली गलौज गरी डिप फ्रिजमा ताला समेत लगाएर प्रशासनले दादागिरि प्रस्तुत गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा सोमबार व्यवसायीहरु प्रशासनमा छलफलका लागि पुग्दा समेत सकारात्मक नतिजा निस्कन नसकेको उल्लेख गरिएको छ । यस सम्बन्धमा सोमबार नै माछाको गुणस्तर परीक्षण गर्न जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सुनील लम्साल, जिल्ला भेटेनरी हस्पितलका डा. प्रभात न्यौपाने र मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अधिकारीसहितको संयुक्त हस्ताक्षरमा भ्याकुम शिल प्याक गरी पसलमा रहेको माछाहरुको नमुना परीक्षणका लागि पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
बजारमा फर्मालिनयुक्त भारतीय माछाहरुको अनुगमनका लागि गरिएको निवेदनलाई बेवास्ता गर्दै ताजा तथा जिउँदो माछाको बजार प्रवर्द्धनका लागि प्रतिबद्ध किसान तथा व्यवसायीहरुप्रति हतोत्साहित गर्न खोजिएको भन्दै व्यवसायीहरुको निन्दा गरेका छन् । सिडिओले ज्यादती गरेको भन्दै ब्यवसायीहरुले प्रशासन कार्यालयमा धर्ना समेत दिएका थिए ।
सस्तोमा माछा नदिएको निहुँमा सिडियो आएर व्यवसायीलाई धम्काउने, थकाउर्ने काम गरेपछि आफूहरु आन्दोलित बनेको मत्स्य व्यवसायी संघले जनाएको छ ।‘आफुहरुले बजार मूल्य ३८० मा बिक्री गर्ने माछा प्रतिकेजी ३०० रुपैयाँमा उहाँलाई दिदापनि अझ सस्तो खोजेर ब्यवसायीलाई आतंकित पार्ने काम गर्नुभएको छ’, मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले भनिन्,‘ सिडिओबाट भएको यो कार्य सह्य नहुने र यो कार्य विरुद्ध देशब्यापी आन्दोलन गर्नेछौं ।’
उपभोक्तालाई स्वस्थकर माछा खुवाउनु पर्छ भनेर भारतीय माछाविरुद्ध लडेर नेपालमा जिउँदो माछा बिक्री गर्ने पद्धतिको सुरुवात गरेको आफूहरुमाथि सिडिओले गरेको यो कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने अधिकारीको भनाइ छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी तामाङले भने आफूले पसलमा सिल नगरेको र व्यवसायीलाई खरिद तथा बिक्री बिल ल्याउन भनेको बताए । व्यवसायीहरुका अनुसार भरतपुर महानगर २६ दिव्यनगरमा प्रमुख जिल्ला अधिकारी तामाङकी श्रीमती सुवेदीको माछा फर्ममा पुगेकी थिइन् ।
त्यहाँ माछा झिकेर आफ्नो साधनमा माछा लोड गर्दै थिए, तुलाराज तामाङ ।सोही क्रममा सीडीओकी श्रीमतीले ५ किलो माछा भनेको र झिक्न अफ्ठ्यारो हुने बताएपनि फिस हाउसका संचालक तामाङले ५ केजी माछा जोखेर प्रतिकिलो ३०० का दरले बेचेका थिए । यहीबीच साँझ तामाङको फिस हाउसमा पुगी ‘फर्मालिन हालेको माछा बेच्ने भनेर’ हप्कीदप्की गर्दै सीडीओको टोली फ्रिज सिल गरेर हिँडेको अधिकारीले बताए । घटनापछि सोमबार सहायक सिडिओ चिरञ्जिवी शर्मासँगको छलफलबाट सकारात्मक परिणाम ननिस्किएको खगेन्द्र सुवेदीले बताए ।
प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले कालोबजारी गरेको सिडिओ तामाङको भनाइ छ । ‘मैले पुष ९ गते पनि फार्मबाट माछा ल्याएको सात किलो । प्रतिकेजी २४० मा । हिजोपनि माछा लिन गएछन् । एउटा फार्मले चाँहि २४० मा पसलेको नाममा बिल बनायो । त्यहिँ पसलेले फेरि ३०० लिएछ । म ठगिएँ’, उनले भने ।व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिएकाले कालोबजारीमा मुद्दा चलाएर कारबाही गर्ने उनले बताए । फार्मले प्रतिकेजी २४० मा पसलेलाई माछा बिक्री गरेको बील आफूसँग रहेको उनको भनाइ छ । बेलुका पसलमा चाँहि पसलेसँग माछाको बिल लिन गएको उनले बताए ।
व्यवसायीका अनुसार सिडिओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममा पुगेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !