काठमाडौं । सरकारले देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय गरेको हाे ।यही पुस २३ गते ३ वर्षे सेवा अधविका कारण गणेश अधिकारी अनिवार्य अवकाशमा जाने भएपछि खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय सरकारले गरेको हो।

उनले आगामी ९ महिनासम्म गुप्तचर प्रमुखको नेतृत्व सम्हाल्न पाउने छन्।विभागमा हाल अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल र यादवप्रसाद रेग्मी थिए । खरेल प्रमुख भएसँगै रेग्मी तीन महिनामै सोही पदबाट उमेरहदका कारण अनिबार्य अवकाश जाने छन् । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ पुस २०७५ अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउनुका साथै तत्कालिन प्रमुख दिलिप रेग्मीलाई हटाएर अधिकारीलाई प्रमुख बनाएका थिए । बुटवल घर भएका यदुलाल खरेल रेग्मीभन्दा ४ महिना सिनियर हुन् । गुप्तचर प्रमुख नियुक्त भएमा खरेलले करिब ९ महिना विभागको कमाण्ड सम्हाल्नेछन् ।
विभागको नियमावली अनुसार ५८ वर्षे उमेर हदका कारण खरेल २०७९ भदौ २० मा अवकाशमा जानेछन् । यादव रेग्मी प्रमुख नियुक्त भएमा वा नभए पनि उमेर हदका कारण २०७९ वैशाखमा अवकाशमा जानेछन् । राष्ट्रिय अनुसन्धान विभाग संघको मातहत रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो ।
मन्त्रिपरिषद्ले राअको प्रमुख नियुक्ति गरेसँगै एउटा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको पद खाली हुन्छ । सो पदमा बढुवा हुन ६ जना अनुसन्धान निर्देशक (डिआईजी)हरु प्रतिस्पर्धामा छन् । अहिले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक नियुक्त हुने अधिकृतले २०७९ भदौ २० पछि गुप्तचर प्रमुख हुने अवसर पाउनेछन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) हुने प्रतिस्पर्धामा अनुसन्धान निर्देशकहरू हुतराज थापा, कुलदेव थापा, हरिहर पौडेल, ओम जोशी, सुनिल ढकाल र टेकेन्द्र कार्की छन् ।
बरियतामा १ नम्बरमा रहेका हुतराज थापा ३३ किलो सुन तस्करीको घटना छानबिनमा संलग्न थिए । भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीले तुईन खुस्काइदिँदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको प्रकरणको छानबिन र अनुसन्धानमा पनि थापा सहभागी थिए । उनी गुप्तचर मुख्यालय स्थित प्रदेश समन्वय महाशाखामा कार्यरत छन् ।कर्णाली प्रदेशमा कार्यरत टेकेन्द्र कार्की पनि काबिल अफिसर मानिन्छन् ।
उनी बरीयताको छैटौँ नम्बरमा छन् । एआईजी प्रतिस्पर्धी ओम जोशीले दिल्ली स्थित दूतावासमा सहचारीको रूपमा काम गरेका थिए । ६ जना मध्येबाट अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा हुने एकजना गुप्तचर प्रमुख बने पनि सो ब्याचका ४ जना अधिकृत डिआईजीको ५ वर्षे सेवा अवधिका २०७९ भदौ १३ मा अवकाशमा जान्छन् । अतिरिक्त मुख्य अनुसन्धान निर्देशक हुने प्रतिस्पर्धामा रहेकाहरू २०५३ मा सेवा प्रवेश गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !