धरान । यो तस्विर धरान नगरपालिका बन्नु अघि राणाकालमा प्रधानमन्त्री जुद्ध शमसेरको समयमा उनकै नाममा बनाइएको हालको छाता चौक स्थित पुरानो अस्पताल भनिने जुद्धनगर अस्पतालको हो । यो अस्पताल २०४५ सालको विनाशकारी भूकम्पले जर्जर बनाएपछि भत्काइयो ।

धरान उपमहानगरपालिकाले धरानमा बसोबास शुरुआत भएको १२१ सौं वर्ष पुगेको अवसरमा आजदेखी तिनदिने धरान उत्सव ‘धरान डे’ आयोजना गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पब्लिक हाइस्कुलको मैदानमा उत्सवको उद्घाटन गर्दैछन् । मेयर तिलक राईले यो उत्सव धरानको इतिहास र विकाशक्रमको माइलस्टोलनका रुपमा आयोजना गरिएको धरानबासीको उत्सव भएको बताएका छन् ।
धरान उत्सवको शुरुआत धरानमा वस्ती विकास शुरु भएको १ सय वर्ष पुरा भएको इतिहास सार्वजनिक गर्दै २०५७ सालमा तत्कालिन मेयर मनोजकुमार मेयाङबोको कार्यकालमा पहिलो पटक धरान शतवार्षिक महोत्सव आयोजना गरिएपििछ शुरु भएको हो । धरान स्थापना भएको स्मृति लाई निरन्तरता दिनका लागि शत्वार्षिकीकै अवसरमा हरेक वर्ष पुष महिनामा धरान उत्सव आयोजना गर्ने घोषणा गरिएको थियो ।
व्दन्दकालमा यस्ले निरन्तरता पाउन सकेन । निरन्तरता टुटेपछि जनप्रतिनिधि विहीवन अवस्थामा २०६७ सालमा २०१७ सालमा धरान नगरपालिका घोषणा भएको मितिले धरान नगरपालिका स्थापनाको ५० वर्ष पुगेको भनि धरान उत्सवको आयोजना गरिएको थियो ।
दुई दशक अघि शतवार्षिकी मनाउँदै धरानको समग्र विकासको लागि ५० वर्षे अवधारणा भिजन पनि तयार गरिएको थियो । धरानको विकास सम्बन्धि गोष्ठीले संक्षिप्त रुपमा ‘शैक्षिक, स्वास्थ्य, पर्यटन, सास्कृतिक पूर्वाधार युक्त शहर धरान’ भन्ने नारा तय गरेको थियो । उक्त नारा निकै पछि सम्म नगरपालिकालेले आफ्ना प्रचार समाग्रीहरुमा प्रयोग गर्दै आएको थियो । दुई दशक सम्म नगरपालिका जनप्रतिनिधि विहीन अवस्थामा रहेपछि ति कुराहरु हराए ।
धरानको इतिहास धरानबासी लाई स्मरण गराउन यसपाली प्रधानमन्त्रीलाई नै निम्ता गरेर उपमहानगरपालिकाले धरान उत्सवको पूनर्जागरण गरेको हो । धरान बजारको इतिहास खोज्दै जाँदा धरानले २०१७ सालमा नगरपालिकाको मान्यता पाएको पाइन्छ । त्यस अघि तिनसय वर्ष अघिको इतिहास रहेको विजयपुर संग जोडिएको धरानको इतिहासका बारेमा कमै चर्चा हुने गरेको छ ।
धरान लाई उपमहानगरपालिका बनाउन योग्य बजारको विकास नभएको भए धरान कस्तो हुन्थ्यो त्यस्को कल्पना गर्न सकिन्न । राणाकालको बेला नै वस्ति विकास भएकाले धरानले अहिलेको सुविधा सम्पन्न उपमहानगरको रुप लिएको हो । रुख काटेर लकडी बनाउने आराको धरान थाप्ने पुरानो प्रविधि लाई धरान भनिने र त्यसै बाट धरान शहरको नाम बसेको जनश्रुति पुस्तान्तरले धरानबासीले सुन्दै आएका छन् । आज भन्दा डेढ सय वर्ष अघि सखुवाको जंगलको रुपमा रहेका धरानको बन फडानी गरेर तत्कालिन राणा सरकारले भारत लाई रेलको लिक विछ्याउन लकडि निर्यात गरेपछि धरानमा मानव वसोबासको सम्भावना बढेको थियो ।
त्यस बेला आज भन्दा १ सय १९ वर्ष अघि राणा सरकारको सुब्बाका रुपमा रत्नप्रसाद श्रेष्ठ धरानमा कार्यरत थिए । बन फडानी भएर आवाद भएको धरानमा वस्ती बसाउनका लागि उनले राणा सरकार समक्ष पहल गरे । परिणाम स्वरुप १९५७ साल देखी धरानमा बासोबास शुरु भएको थियो । त्यस बेलाका भूमिहिनहरु लाई जग्गा दिलाउने कार्य बाट उनले शुरु गरेको धरान बजार बसाउने अभियानको परिणाम स्वरुप धरान अहिलेको अवस्थामा आइपुगेको हो ।
सुब्बा रत्नप्रसादको इतिहास खोज्न टाढा जानु पर्दैन । उनका कान्छा छोरा स्वर्गिय गोपालप्रसाद कायस्थको परिवार अहिले पनि धरानको सामाजिक सेवाको क्षेत्रमा सकृय छन् । समाजसेवी सरला कायस्था सुब्बा रत्नप्रसादका कान्छी बुहारी हुन् ।

















