सुडान । दक्षिण सुडानमा रहेको एक सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा ३८ जना खानी मजदुरको ज्यान गएको छ । सो खानीमा परी अन्य केही व्यक्ति पनि घाइते भएका छन् । दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको उक्त सुनखानीमा अकस्मात विस्फोट भएको थियो ।

सुनखानीमा अकस्मात बिस्फोट भएको थियो । उक्त बिस्फोटपछि सुनखानी भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । उक्त सुनखानी असुरक्षित रहेको भन्दै निकै पहिलेदेखि विरोध हुँदै आएको थियो । प्रहरीले पनि उक्त खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनेको थियो । तर, विरोध र प्रहरीको सुझावको बेवास्ता गर्दै उक्त सुनखानी सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताइएको छ ।
सुरुमा उक्त दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको भनिएता पनि पछि त्यो सँख्या बढेर ३८ पुगेको हो । स्थानीय सञ्चारमाध्यमले उक्त दुर्घटनामा परी घाइते भएका आठजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।


















