काठमाडौं । सरकारले वैदेशिक रोजगारका क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली (र्यापीड रेस्पोन्स टिम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व हुने गरी शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।

वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा गठन गरिएको र्यापीड रेस्पोन्स टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्ड सचिवालय, नेपाल प्रहरीका प्रतिनिधि सदस्य रहनुभएको छ भने वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत सदस्य सचिव रहेका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी आउने गुनासोलाई तत्काल निराकरण गर्न, राहत, उद्धार तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि टोली गठन गरिएको बताए।
टोलीले वैदेशिक रोजगार व्यवस्थापनमा कुनै सेवा प्रदायक निकाय, सङ्घसंस्था तथा व्यक्तिले बदनियतपूर्वक काम गरिरहेको वा गर्न लागेको कुनै सूचना प्राप्त भएमा छानविन गर्न, आवश्यक निर्देशन दिन तथा थप अनुसन्धानका लागि सिफारिस गर्नेछ ।वैदेशिक रोजगारसम्बन्धी कामलाई व्यवस्थित तथा मर्यादित बनाउने तथा कानूनको प्रभावकारी कार्यान्वयन गराउन र यस क्षेत्रमा आउने गुनासोको तत्काल सम्बोधन गर्न टोलीले काम गर्नेछ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित, सुरक्षित बनाउने क्रममा यस क्षेत्रको व्यवस्थापनमा सुधार गरी सुशासनको अभिवृद्धि गर्न टोली गठन गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।अहिले नेपाली युवाको रोजगारीको प्रमुख स्रोतका रुपमा वैदेशिक रोजगारीले स्थान लिएको छ ।
तर यसक्रममा ठगिने, दुःख, हण्डर व्यहोर्नुपर्ने र सुशासनका दृष्टिलेसमेत नकारात्मक चित्रण हुने गरेकाले यसको छवि सुधार्ने प्रयासका रुपमा शीघ्र प्रत्युत्तर टोली गठन गरिएको हो ।
भिजिट भिसामा नजान आग्रह अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘भिजिट भिसाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो रहेको छ ।
यसकारण विभिन्न मुलुकमा पुगेर युवाहरू अलपत्र पर्ने गरेका छन् । त्यसैले यस क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका सरोकारवालाहरूले भिजिट भिसामा नजान आग्रह गरेको हो ।प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको बताए । यसरी जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट बञ्चित हुने बताए ।त्यसैले, भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने उनको भनाइ छ । साथै, दुःख पाउँदा परिवारबाट पैसा मगाएर फर्किनुपर्ने बाध्यता रहेको उनले औंल्याए ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यक रहेको बताए । उनकाअनुसार भिजिट भिसामा जाने मानिस भनेको घुम्न जाने भएकाले कामदारहरूले उक्त कार्य बुझ्नु पर्दछ ।कामदारको मात्रै नभएर सरकारको कममजोरीले पनि भिजिट भिसामा जाने श्रमिक बढ्दो रहेको बताए । ‘नेपालबाट वैदेशिक रोजगारमा जाने प्रक्रिया निकै लामो रहेको छ ।
कामदारहरू छोटो समयमा वैदेशिक रोजगारीमा जाने चाहन्छन्,’ उनले भने, ‘कामदारलाई छिटो र सहज ढङ्ग खोज्ने भएकाले भिजिट भिसामा जाने गरेको देखिन्छ ।’श्रमविज्ञ रामेश्वर नेपालले भिजिट भिसाको समस्या अहिलेदेखि मात्रै नभएर विगतको दिनमा पनि रहेको बताए । भिजिट भिसाको आवरणमा युवा तस्करी भइरहेको बारे सम्बन्धीत सरोकारवालाहरु जानकार भए पनि कडाई गर्न नसकिएको उनको भनाइ छ ।
‘यो समस्याको समाधानका लागि सरकार, व्यवसायी तथा कामदार पनि इमान्दार हुन पर्छ । साथै, समस्या समाधानका लागि डिप्लोमेटिक पहल आबश्यक छ,’ उनले भने ।यसबारे सबै जानकार भए पनि कुनै समस्याको समाधान गर्न चासो नदेखाएको भन्दै एकजुट भएर काम गर्नुपर्ने बताए । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसियसनका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले अज्ञानीभन्दा सबैभन्दा बढी जाने नेपाली भिजिट भिसामा जाने गरेको बताए ।
भिजिट भिसामा जाँदा व्यवसायीहरु पनि मारमा पर्ने र श्रमिकहरूले पनि समस्यामा पर्दा कुनै सरकारले प्रदान गर्ने सेवा सुविधा नपाउने उनले जिकिर गरे । ‘श्रम स्वीकृति लिएर गएका श्रमिकले मृत्यु वा अंगभंग भएमा ७ लाख पाउने र बिरामी भए स्वास्थ्य खर्चबापत राहत पाउनेछ,’ उनले भने ।उनका अनुसार भिजिट भिसामा धेरै समस्या स्वीकार्दै उक्त समस्या समाधानका लागि सरकार, व्यवसायीलगायत कामदारसमेत उत्तरदायी भएर सचेत हुनुपर्छ । साथै, भिजिट भिसामा पठाई मोटो रकम उठाउने व्यापार बन्द गर्नुपर्ने उनको भनाइ छ ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष अशोक रानाले कामका लागि भिजिट भिषामा जाँदै नजान आग्रह गरे । ‘अहिले नेपालीहरुको संस्कृति नै जस्तो भइसकेको छ भिजिट भिसामा जाने तर उहाँहरुको उद्देश्य भनेको काम गर्ने र पैसा कमाउने नै हो । यसरी जाँदा उहाँहरुले दुःख पाउनु भएको छ ,’ उनले भने ।
सरकारले म्यानपावर कम्पनीहरुका एजेन्ट खारेज गरे पनि एजेन्टमार्फत नै काम भइरहेको अध्यक्ष रानाले बताए । सरकारले कार्यविधि नै बनाएर भिजिट भिसामा कडाई गर्नुपर्ने उनले उल्लेख गरे ।
वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले भिजिट भिसामा एनआरएनएले नै लैजाने गरेको बताए ।‘जुन म्यानपावरले भिजिट भिसामा पठाउँछ त्यो दलाल हो । आफन्त र सरकारका विभिन्न तहका कर्मचारीको सेटिङ हो । र अर्को भारतको बाटोमार्फत पनि युवाहरु भिजिट भिसामा जाने गरेका छन्,’ कार्यक्रममा बोल्दै तामाङले भने ।

















