काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति नभएको स्पष्ट पारेका छन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र प्रचण्डबीच पाँच बुँदे सहमति भएको आरोप लगाएका थिए । प्रचण्डले बिहीबार एक वक्तव्य जारी गर्दै ओलीलाई सो आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
उनले राजासँग पाँच बुँदे सहमति भएको भन्ने शत प्रतिशत झुटो कुरा प्रचार भएको बताएका छन् ।
प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् ।
प्रचण्डले भनेका छन्- ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म के। पी। ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’
उनले ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको समेत प्रेम वक्तव्यमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् ।’

















