काठमाडौं । नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चुनिएका छन् ।सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन गरेको हो ।

शनिबार काठमाडौंमा उदघाटन भई आइतबार रातिसम्म चलेको बन्दसत्रले सिंखडाको नेतृत्वमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण पोखरेलले जानकारी दिए । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।
दुई दिन चलेको सम्मेलनको बन्दसत्रले आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको थियो ।माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११–१३ मा काठमाडौंमा हुँदैछ । सोहीअन्तर्गत प्रदेश सम्मेलन आयोजना भएका छन् ।
