काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा अरुभन्दा फरक धारणा प्रस्तुत गरे कांग्रेसका वर्तमान महामन्त्री शशांक कोइरालाले । मुलुकमा धर्मनिरपेक्षता भएपनि महामन्त्री कोइरालाले हिन्दू धर्मको लाइनमा कांग्रेस हिँड्नुपर्ने संकेत गरे ।
महामन्त्री कोइरालाले मन्तव्य दिने क्रममा आफूलाई धर्म निरपेक्षता ठीक नभएको बताए । उनले हिन्दूको बाहुल्यता भएको नेपाललाई धार्मिक रुपमा हिन्दू भनेर घोषणा गर्नुपर्ने घुमाउरो भाषामा भने । उनको भनाइको तात्पर्य थियो– हिन्दू समाजको बाहूल्यता रहेकोले नेपाललाई धार्मिक रुपले हिन्दू राष्ट्र बनाउनुपर्छ ।
नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख छ र त्यसको अगुवाकर्ता कांग्रेस पनि हो । तर, महामन्त्री कोइराला पार्टीमा हिन्दूवादको लाइन समातेर नेपालमा हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने अडानमा विगतदेखि लागिपरेका छन् ।
उनले सम्बोधनका क्रममा भनेका छन्, ‘संविधानमा केही त्रुटिहरु होलान्। संविधान लकिरको फकिर हुँदैन। परिवर्तनीय हुन्छ । मेरो व्यक्तिगत धारणा छ, धर्म निरपेक्षता ठीक होइन। धर्म निरपेक्ष हुँदैन, न सापेक्ष हुन्छ। धर्म त स्वतन्त्र हुन्छ।’
उनले मन्तव्यका क्रममा यसो भनिरहँदा भारतीय जनता पार्टी (भाजपा)कै सिद्धान्त अनुकरण गर्न खोजेको पनि प्रष्टिन्थ्यो । जबकि भारतमा नरेन्द्र मोदीको नेतृत्वको भाजपाले हिन्दूवादलाई नै पार्टीको मुख्य अस्त्र ठानेर सत्ता चलाइरहेको छ ।
र, भाजपाबाटै प्रभावित भएर महामन्त्री कोइराला पनि हिन्दूको बाहुल्यता रहेको नेपाल भारतसँग धार्मिक र सांस्कृति रुपले समान रहेको ठानेर त्यसो भनिरहेका त छैनन् ? नत्र किन उनी सार्वजनिक कार्यक्रमदेखि पार्टीको कार्यक्रममा हिन्दूकै कुरा उठान गरिरहेका छन् त ? गहिरो कुरा यहीँ हो । धर्मको विषय उठान गरेर थप भ्रान्ति सिर्जना ठीक होला त ?
के नेपाल एकल धर्मको रुपमा परिकल्पना गर्न सकिएला ? के राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भनेजरी नेपाल अब, संघीय लोकतान्त्रिक गणतन्त्रतर्फ उन्मुख नभई राजतन्त्र भित्र्याएर राजा फर्कनुपर्छ ? राजतन्त्र फर्काएर देशको विकास कायपलट हुन्छ ? गम्भीर प्रश्न यहाँ अड्किएको छ ।
त्यसैले महामन्त्री कोइरालाको भनाइअनुसार धर्म निरपेक्ष ठीक होइन अब नेपालमा हिन्दूवाद नै ल्याएर सबै समस्या हल हुन्छन् । महामन्त्री कोइरालाको मन्तव्यअनुसार के नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्र विन्दू धर्म निरपेक्ष ठीक नभई हिन्दूवाद नै हो त ?
फेसबुकबाट तपाईको प्रतिक्रिया !