काठमाडौं । संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने नगएपछि नेपाल पर्यटन बोर्डको आज बोलाइएको बैठक बस्न सकेन । पर्यटन बोर्डले मन्त्रालयका सचिव न्यौपानेको स्वागत गर्नका लागि बिहीबार बोर्ड बैठक बोलाएको थियो । पर्यटन बोर्डका अध्यक्ष मन्त्रालयका सचिव हुन् ।

सचिव न्यौपाने भर्खरै सरुवा भएकाले उनको स्वागतका लागि बोर्ड बैठक बोलाइएको थियो ।पर्यटन बोर्डको आजको बैठकमा नयाँ अध्यक्षको स्वागत, कर्मचारी विनियमावली पारित गर्ने र विबिध गरी ३ वटा एजेन्डा थिए । तर सचिव न्यौपाने नै नआएपछि बोर्ड बैठक बस्न सकेन ।पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सिईओ) धनन्जय रेग्मीले २०७८ कात्तिक २० मा बेलायतबाट फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन गरेको हर्कतबाट मन्त्री प्रेम आले रुष्ट भएका छन् ।
पर्यटन बोर्डको गरिमा नै उनले कायम राख्न नसकेकाले उनको विकल्प खोजीमा मन्त्री आले छन् । बोर्डका सिईओ रेग्मीले बोर्डका कर्मचारीसँग पनि समन्वय गर्न नसकेको आरोप छ । बोर्डका एकाध बाहेक सबै कर्मचारी उनीसँग असन्तुष्ट छन् ।सिईओ रेग्मीसँग कर्मचारीको ठूलो हिस्सा असन्तुष्ट रहेको र पर्यटन मन्त्री आलेका बिरुद्ध मनगढन्ते समाचार मिडियामा दिएकोबारेमा सचिव न्यौपानेले थाहा पाएपछि आजको बोर्ड बैठकमा उनी नगएको स्रोतले बताएको छ ।
पर्यटन मन्त्रालयमा सरुवा भएपछि बोर्डको अध्यक्षका रुपमा स्वागतका लागि राखिएको बैठकमा न्यौपाने अनुपस्थित भएपछि अब सिईओ रेग्मीको पद संकटमा परेको चर्चा हुन थालेको छ ।
