चितवन । चितवनमा पुस महिनाको अन्तिम साता दुई ठूला महोत्सव सँगसँगै आयोजना हुने भएका छन् ।नारायणी नदी किनारमा आगामी पुस २५ गतेदेखि चितवन महोत्सव शुरु हुने भएको छ । त्यसको दुई दिनपछि पुस २७ गतेदेखि पूर्वीचितवनको टिकौली चौरमा रत्ननगर महोत्सव शुरु हुनेछ ।
पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । यस्तै पुस २७ गतेदेखि शुरु हुने रत्ननगर महोत्सव माघ ८ गतेसम्म सञ्चालन हुने उद्योग वाणिज्य संघ रत्ननगरले जनाएको छ ।अघिल्लो वर्ष नै हुनुपर्ने चितवन महोत्सव कोरोना भाइरसको संक्रमणका कारण हुन सकेको थिएन । यसपटक हुन लागेको चितवन महोत्सव १३ औं संस्करण हो भने रत्ननगर महोत्सवको ११ औं संस्करण हो ।
विसं २०५९ देखि हरेक विजोर वर्षमा चितवन महोत्सव र जोर वर्षमा रत्ननगर महोत्सव हुँदै आएको छ । चितवन महोत्सवमा ४०४ स्टल रहनेछन् भने रत्ननगरमा ३५० स्टल रहनेछन् ।पाँच लाख दर्शकले हेर्ने चितवन महोत्सवमा ५ अर्बको कारोबार हुने अपेक्षा आयोजकको छ ।उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले दुवै महोत्सवले चितवनको चिनारी गराउन मद्धत पुग्ने विश्वास व्यक्त गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !