काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशन आँगनमै आइपुग्दा पनि सभापतिको पदमा को उम्मेदवार बन्नेबारेमा अझैँ तय गर्न सकेको छैन ।सोमबार पौडेल निवासमा उम्मेदवारीबारे छलफल भए पनि सहमति टुंगोमा पुग्न सकेन ।
आज मंगलबार सभापतिका आकांक्षी नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमामा उम्मेदवारी को बन्ने भन्ने सन्दर्भमा बैठक जारी छ ।बैठकमा पौडेलले साझा उम्मेदवार बनाउनका लागि कि छाड्न कि सघाउन भनेका छन् । तैपनि बैठकले ठोस निर्णय गर्न भने नसकेको बताइएको छ । जारी बैठकमा पौडेलले भने, ‘तपाईंहरु मिल्न तयार भए मिल्नुस्। र, म छोड्न तयार छु । नत्र हैन भने मलाई नै सघाउनुस् ।’
नेता पौडेलले उम्मेदवारीको टुंगोमा पुग्नुको विकल्प नभएको बताउँदै सभापतिको उम्मेवार चयन भएपछि पदाधिकारीमा को को उठ्न दुई घन्टामै सम्पन्न गरि सकिने बताएका छन् । तर, सभापतिका लागि चाँडो एक उम्मेदवार तय गर्नु पर्ने उनको भनाइ छ । बैठकमा पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराल र डा. शशांक कोइराला रहेका छन् ।
पौडेल समूह भित्र मिटिङमा बसिरहँदा बाहिर उक्त समूहनिकट युवा कार्यकर्ताहरुले चाँडो उम्मेदवार बन्ने सहमतिमा पुग्न भन्दै प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।बाहिर युवाहरुले ‘साझा उम्मेदवारको विकल्प छैन,’ ‘एकता मात्रै जितको आधार हो,’ ‘नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस्’ लगायतका नाराहरु लगाइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !