काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपसम्बन्धी एथेष्ट प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् ।
निर्मल निवासबाट राप्रपामा विगतदेखि नै हस्तक्षेप हुँदै आएको भन्दै थापाले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने पनि बताएका छन् ।
शतप्रतिशत राजावादीहरू भएको पार्टीमा राजाको ठाडो हस्तक्षेप भएको भन्दै उनले राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा पनि राजाको हस्तक्षेप हुनसक्ने आशंका गरेका छन् । यसबाट आफू धर्मसंकटमा परेको पनि थापाले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यस सम्वन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ ।’
‘विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?’ उनले प्रश्न गर्दै भनेका छन्, ‘अत्यन्त प्रतिकूल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यही हो । म नैतिक र धर्मसंकटमा परेको छु ।’
२०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाकाबारेमा भ्रम सिर्जना गर्ने÷गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको भन्दै थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने दृढता पनि व्यक्त गरेका छन् ।
राप्रपाको एकता महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको भन्दै थापाले अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा आफूले निरन्तर सकारात्मक सहयोग गर्ने पनि बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !