सर्लाही । नेपाली कांग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सुरु भएको छ । लामो विवादपछि सर्लाहीमा सोमबारबाट नेपाली काँग्रेस सर्लाहीको क्षेत्रीय अधिवेशन सुरु भएको हो ।सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन प्रक्रिया प्रारम्भ भएको जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले जानकारी दिए।
उनका अनुसार क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलवास, क्षेत्र नं. २ को मलङ्गवा, क्षेत्र नं. ३ को बरहथवा र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशन प्रारम्भ भएको छ ।क्षेत्र नं.३ बाहेक अन्य क्षेत्रमा आज साँझ मनोनयन दर्ता गरिएको जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले बताए। क्षेत्र नं.१ को ईश्वरपुर नगरपालिकास्थित बयलवासमा भएको मनोनयन दर्ता कार्यमा क्षेत्र नम्बर १ मा जिल्ला सभापति नागेन्द्र कुमार राय (संस्थापन)को तर्फबाट कुवेर आचार्य र पूर्व जिल्ला सभापति लक्ष्मण राय (संस्थापनइतर)को तर्फबाट हरि लुंगेली क्षेत्रीय सभापतिको उम्मेदवार बनेका छन् ।
मनोनयन दर्ता भएका निर्वाचन क्षेत्र नम्बर १, २ र ४ मा मंगलबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीले बताए। निर्वाचन अधिकृत ज्ञवालीले क्षेत्र नं। ३ मा पनि मंगलबार नै मनोनयन दर्ता गरेर त्यहाँ निर्वाचन गराइने बताए। सो निर्वाचन क्षेत्रको कविलासी नगरपालिका–४, हेमपुरबाट एक जना नक्कली मतदाता घुसाएर प्रतिनिधि कायम गर्न खोजेपछि विवाद भएकाले सोमबार मनोनयन दर्ता हुन नसकेको निर्वाचन अधिकृत ज्ञवालीले बताए।
विवादले गर्दा सर्लाहीमा अधिवेशन नहुने भएपछि केन्द्रले नै निर्वाचन समिति र सुरक्षा अधिकारीलाई जसरी पनि अधिवेशन गराउन निर्देशन दिएको कांग्रेस नेताहरुले बताएका छन् ।अधिवेशन नभए सर्लाहीबाट १४ औँ महाधिवेशनमा प्रतिनिधित्व नहुने भएपछि केन्द्रबाट जसरी भएपनि अधिवेशन गराउन दबाब आएको स्रोतले जनाएको छ । सर्लाहीमा संस्थापन र संस्थापनईतर वीच सहमती जुट्न नसक्दा गाउँपालिका तथा नगरपालिका, प्रदेश र जिल्ला अधिवेशन भने अन्योलमा परेका छ ।
जिल्ला नै छुट्ने भएपछि अन्य तहको अधिवेशन छाडेर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्न क्षेत्रीय अधिवेशन गर्न लागिएको कांग्रेसका नेताहरुले बताएका छन् । क्षेत्रीय अधिवेशनले प्रत्येक क्षेत्रमा एक जना क्षेत्रीय सभापति, दुई जना सचिव, दुई जना सह–सचिव र महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।
कांग्रेसको क्षेत्रीय अधिवेशन भइरहेको चारवटै स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । जिल्लाका २० वटा स्थानिय निकायहरुका २ सय वडामध्ये करिब ३ वटा वडामा अझै नेतृत्व चयन गर्न बाँकी रहेको छ ।
बलरा, र कविलासी नगरपालिकाका गरि विभिन्न ३वटा वडामा वडा अधिवेशन समेत भएको छैन । सोमबार मलङ्गवा नगरपालिकाको वडा नं. १०, कौडेना गाउँपालिकाको वडा नं. ४, ब्रह्मपुरी गाउँपालिकाको वडा नं. १ मा भने सदरमुकाम मलंगवामै मतदान गरेर नेतृत्व चयन गरिएको निर्वाचन अधिकृत ज्ञावालीले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !