काठमाडौं । नेकपा(एमाले)को भर्खरै सम्पन्न दसौं महाधिवेशनमा ७ सचिवमध्ये गोकर्ण बिष्टले सबैभन्दा बढी मत ल्याएर बिजयी भएका छन् । तर उनको जिल्ला गुल्मीका एमालेका नेता-कार्यकर्ता भने धमाधम सो पार्टी परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्न थालेका छन् ।

नेकपा एमालेको साविक पिपलधारा गाउँ विकास समिति हाल धुर्कोट वडा नम्बर २ का वडा कमिटी अध्यक्ष बाबुराम खड्का नेकपा समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार पिपलधारामा आयोजित कार्यक्रममा खड्कासहित सिंगो वडा कमिटी नै नेकपा समाजवादीमा प्रवेश गरेको छ । खड्का धुर्कोट गाउँपालिका भएपछि वडा नम्बर २ को वडा कमिटी अध्यक्ष हुन् । पिपलधारा गाविसका पनि उनी गाउँ कमिटी अध्यक्ष नै थिए ।
एमाले छाडेर नेकपा समाजवादी रोजेका बाबुराम खड्कालाई टोपबहादुर रायमाझीका ज्वाई बद्रीविक्रम थापा काजीले बधाइ दिएका छन् । थापा रायमाझीका छोरीज्वाई हुन् । ससुराले माओवादी छाडेर एमालेको सचिव हुँदा पनि ज्वाई काजी माओवादी केन्द्रमै छन् । धुर्कोट गुल्मीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पर्दछ । जहाँबाट गोकर्ण बिष्टले चुनाव जित्दैआएका छन् ।

















