काठमाडौं । नेपाली काँग्रेसका नेता उदय शम्शेर राणाले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार ललितपुरमा पत्रकारहरूसँग कुराकानीमा खुलातर्फबाट चुनाव लडेरै काँग्रेसको केन्द्रीय सदस्य हुन चाहेको राणाले बताए। ‘म यसपालि पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु,’ पूर्व राज्यमन्त्री समेत रहेका उनले भने, ‘मागेर होइन चुनाव जितेरै केन्द्रीय समितिमा काम गर्न चाहन्छु।’ राणा १३ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उठेर पराजित भएका थिए ।

त्यसबेला खुला केन्द्रीय सदस्य २५ जना मात्रै रहने व्यवस्था थियो। यसपालि काँग्रेसले खुला केन्द्रीय सदस्य ३५ पुर्याएको छ।सभापति शेरबहादुर देउवा समूहबाटै केन्द्रीय सदस्यमा उठ्ने उनको भनाइ छ । पूर्वसांसद र नेपाल तरूण दलका पूर्वअध्यक्ष समेत भएका उनले पार्टीमा धेरै तहमा र धेरै पादहरूमा निर्वाचन हुने विधान राम्रो भएको बताए ।
राणाले ७७ तहको निर्वाचन गर्दा पार्टीमा आन्तरिक विग्रह आएको पनि जिकिर गरे । ‘७–७ तहको निर्वाचन गर्दा पार्टीमा विग्रह देखियो । तलबाट माथिसम्म दुई समूह हुँदा पार्टीका लागि उचित भएन । तह कम गरेर हुन्छ कि कार्यसमितिहरूमा पद घटाएर कसरी हुन्छ विग्रह म्यानेज गर्ने इस्युमा योगदान पुर्याउँछु,’ उनले भने । केन्द्रीय सदस्यमा जितेपछि महाधिवेशन हुनु भन्दा २ वर्ष अगावै क्रियाशील सदस्यता नवीकरण, वितरण टुंग्याउने विषयलाई मुद्दाका रुपमा अघि बढाउने बताए । महाधिवेशनको मुखैमा सदस्यता नवीकरण र बितरण गर्दा पार्टीमा बिबाद बढ्ने भएका कारण यो विषयलाई मुद्दाका रुपमा अघि लैजाने उनको भनाइ छ ।
अमेरिकामा अध्ययन पछि स्वदेश फर्किएर आफू पुस्तैनी व्यापारमा नलागेर पूर्णकालीन राजनीतिमा लागेको भन्दै पदमा पुगे पार्टी र लोकतन्त्रलाई योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे ।महरद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेपाली काँग्रेस युवा नैनसिंह महरले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य मा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।
‘यसपालि म केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन्छु,’ उनले भने, ‘म कुनै पनि पदमा दोहोरिएर बस्दिनँ।’ उनले पार्टीको कुनै पनि पदमा एकपटक भन्दा बढी पटक नबस्ने र पार्टीको क्रियाशील सदस्यताका लागि परीक्षाको व्यवस्था गर्नुपर्ने पनि बताए। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित महरले उम्मेदवारीसँगै १४ एजेन्डा पनि सार्वजनिक गरेका छन्।
१४ औं महाधिवेशनका १४ एजेन्डा
१. एक व्यक्ति, एक पद, दुई पटक मात्र
२. प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता
३. सरकार र पार्टी सञ्चालनका लागि थिंक ट्यांक स्थापना
४. बीपी विचारको समयसापेक्ष कार्यान्वयन
५. व्यवहार र आचरणमा शुद्धता, आर्थिक पारदर्शिता
६. रुपान्तरणका लागि युवा कांग्रेस स्थापना
७. नेतृत्व आवधिक कार्ययोजना महाधिवेशनमै
८. लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व, कुशल व्यवस्थापन
९. योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनका आधारमा सम्मान
१०. निःशुल्क स्वास्थ्य–शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार
११. लगानीमैत्री वातावरण, युवा उद्यमशीलता र स्वरोजगार अर्थतन्त्रमा सुधार
१२. विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान
१३. कानुनी राज्य, मानव अधिकार, सुशासन र समावेशिता
१४. राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति

















