काठमाडौं । सरकारले १० सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गर्ने निर्णय गरेको छ । सोमबार दिउँसो सिंहदरबारस्थित बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।निर्णय अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा हुने भएका छन् ।उक्त स्थानमा स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई सरुवालाई पठाइने भएको छ । वित्त आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदीलाई पठाइने भएको छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुने भएका छन् । उक्त स्थान श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई प्रधानमन्त्री कार्यालयमा पठाइने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । उक्त स्थानमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने पठाइने भएको छ। त्यस्तै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालयमा पठाइने भएको छ ।
सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंह सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । त्यस्तै जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकासमा पठाइने भएको छ ।

















