काठमाडौं । काठमाडौँको कोटेश्वरको गेस्ट हाउसमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–७ घर भई हाल ललितपुरको लेले बस्ने ३६ वर्षीय गोविन्द सिंह विष्ट रहेका छन् ।

विष्टले गत कार्तिक २७ गते कोटेश्वरस्थित गेस्ट हाउसमा लगेर एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घटनापछि फरार रहेका विष्टलाई प्रहरीले बुधबार कोटेश्वर चोकबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।प्रहरीका अनुसार पीडित बालिकालाई विष्टले लगनखेल बसपार्कबाट ललाई फकाई कोटेश्वर ल्याएका थिए ।
उनले कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाएर लुगासमेत किनिदिएको र कोटेश्वर चोकमा रहेको गेस्ट हाउसमा रुम बुकिङ गरेर बालिकालाई उक्त कोठामा राखेर करणी गरेको प्रहरीको भनाई छ । भोलिपल्ट बिहान बालिकालाई लगनखेल छाडेर विष्ट भने त्यहाँबाट फरार भएको कोइरालाले बताए ।

















