काठमाडौं । ट्रेडमार्क चोरी र साइबर अपराधको आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ । हलेसी डेकोरको ट्रेडमार्क चोरी तथा इमेलको दुरुपयोग गरेको आरोपमा ‘खोटाङ हलेसी डेकोर’ का सञ्चालक योगेन्द्र कार्की पक्राउ परेका प्रहरी प्रधान कार्यालयले बताएको छ ।

पहिले हलेसी डेकोरकै सेयरधनी रहेका उनले २०७७ फागुनमा शेयर बिक्री गरी खोटाङ हलेसी डेकोर नाममा व्यापार सुरु गरेका थिए । तर उनले ‘हलेसी डेकोर’ कै ट्रेडमार्क प्रयोग गरेको र हलेसी डेकोरकै इमेलबाट फेसबुक र टिकटक एकाउन्ट सञ्चालन गरेको उजुरी परेको प्रहरीले बताएको छ ।
बुधबार पक्राउ परेका कार्कीलाई ट्रेडमार्क चोरी र साइबर अपराधमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट बिहीबार अनुमति लिइनेछ ।आफूहरुको ट्रेडमार्क र इमेल ठेगानाको अनधिकृत प्रयोग गरी ग्राहक, वितरक तथा सर्वसाधारणलाई भ्रम सिर्जना गरी गैर कानुनी काम गर्ने मात्रै होइन आफू पहिले काम गरेको संस्थालाई ‘कोल्याप्स’ नै बनाउने गरी गतिविधि गरेको जानकारी पाएपछि प्रहरीमा उजुरी दिएको हलेसी डेकोरका संस्थापक अध्यक्ष हेमराज कार्कीले बताए ।
उनले योगेन्द्र कार्कीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४५, ४६ र ४७ को विपरीतको कार्य गरेको भनी जाहेरी दिएका हुन् ।

















