काठमाडौं। राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी पाँच करोड ५६ लाख ४३ हजार रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ ।नक्कली स्टिकरको कारोबार गर्ने दुई डिष्टिलरीविरुद्ध मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले क्रिष्टल बोटलर्स प्रालि र माउन्ट एभरेष्ट डिष्टीलरी प्रालिविरुद्ध मुद्दा दायर गरेको हो।

यी मदिरा कम्पनीले भारतबाट नक्कली अन्तःशुल्क स्टिकर ल्याएर प्रयोग गर्ने गरेको विभागको अनुसन्धानबाट पुष्टि भएको छ। नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरेको पुष्टि भएसँगै यी कम्पनीहरुविरुद्ध विभागले मुद्दा दायर गर्दै पाँच करोड ५६ लाख रुपैयाँ बिगो माग दाबी समेत गरेको छ। क्रिष्टलले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उद्योग राखी मदिरा उत्पादन तथा बिक्री व्यवसाय सञ्चालन गर्दै आएको थियो।
यसका सञ्चालक फुलसिंह क्षेत्री हुन्। विभागले मुख्य अभियुक्तका रुपमा क्रिष्टलका क्षेत्रीलाई नै लिएको छ।यस्तै, माउन्ट एभरेष्ट डिष्टिलरीका संचालक मृगेन्द्र गोविन्द श्रेष्ठ र रुपन्देही सिद्धार्थनगर नगरपालिका मोहम्मद सहिद अन्सारीलाई पनि विभागले मुख्य अभियुक्तमध्ये मानेको छ। यी दुई कम्पनीका गरी कुल १२ जनाविरुद्ध विभागले उच्च अदालत तुल्सीपुरको बुटवल इजलास (रुपन्देही) मा मुद्दा दायर गरेको हो।
तीन महिनाअघि सशस्त्र प्रहरीले भन्सार नाकाबाट नक्कली अन्तःशुल्क स्टीकर सहित दुई जना भरियालाई पक्राउ गरको थियो। प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो। विभागले सुरुआती दिनमा अनुसन्धानमा ध्यान दिएको थिएन। अनुसन्धान विभागको नेतृत्वमा प्रकाश पौडेल आएपछि उनले अनुसन्धानलाई चासोका साथ अघि बढाएका थिए। ती भरियाले भारतीय नागरिक बाबुराजा कशोधनको नाम लिएपछि प्रहरीले भारतबाट कशोधनलाई पक्राउ गरी नेपाल ल्यायो।
बरामद गरिएको स्टिकर क्रिष्टल र माउन्ट एभरेष्ट डिष्टिलरीले प्रयोग गर्ने सिरियल नम्बर मिलेपछि दुवै डिष्टिलरीमा विभागले छापा मारेको थियो। तर, अनुसन्धान कार्यालय बुटवलले प्रकृया नै पूरा नगरी उद्योग सञ्चालन अनुमति दिएको थियो। पछि महानिर्देशक पौडेलले अनुसन्धान कडाइका साथ अघि बढाउन निर्देशन दिएपछि नक्कली स्टिकरको मुख्य कारोबारी ‘भीम’ भनिने कुलप्रसाद पण्डित नाम गरेका व्यक्ति पक्राउ परेका छन्। उनलाई पक्राउ गरेपछि विभागले अनुसन्धानलाई निष्कर्षमा पुर्याएको हो।
विभागले नक्कली स्टिकर प्रयोग गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ। जसमा क्रिष्टलका सञ्चालक फुलसिंह क्षेत्री र प्रदीप क्षेत्री छन्। यस्तै, माउन्ट एभरेष्टका सञ्चालक मृगेन्द्र गोविन्द, प्रतिभा श्रेष्ठ, मुख्य कारोबारकर्ता प्रविन्द्र गोविन्द श्रेष्ठ छन्।कारोबारमा सहयोग गर्ने मोहम्मद सहिद अन्सारी, अमानत अली रुपन्देही बुटवल उपमहानगरपालिका वडा नं स्थायी ठेगाना भएका राजा कशोधन भनिने विनय कशोधन छन्। यसैगरी सर्लाही लालबन्दीका हरिप्रसाद पौडेल कुल बहादुर पण्डित मुख्य अभियुक्त रहेका छन्।
अनुसन्धानका क्रममा उनीहरुबाट सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क टिकट फेला परेको छ । साथै भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा बढी परिमाणमा मालवस्तु भेटिनुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ । उनीहरुमाथि राजस्व चुहावट, (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को खण्ड ‘झ’ बमोजिम कसुर गरेको आरोप छ ।

















