बुटवल। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने बताएका छन् ।नेपाल महिला संघ रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाका विश्वासपात्र खाणले गठबन्धनको सरकार बचाउँदै आउने निर्वाचन सफल बनाउनका लागि प्रधानमन्त्री देउवा नै पार्टी सभापतिमा निर्वाचित हुनुपर्ने बताए ।
नेपाली कांग्रेसलाई सक्षम र जिम्मेवार पार्टीको रुपमा अगाडि लैजान र पहिलो पार्टी बनाउन सत्ता गठबन्धन बचाँउदै अगाडि बढ्नु पर्ने खाणले बताए ।लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउन खांणले कार्यकर्तालाई आग्रह गरे । उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब पाँच सय जना व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका पार्टी जिल्ला सचिव रामकृष्ण खाणले बताए ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्का, लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री, आयोगका सदस्य दामोदर भुसाल, सांसद रेखा शर्मासहितको टोलीले मंगलबार गृहमन्त्री बालकृष्ण खाणसँग भेट गरेको छ ।भेटमा टोलीले प्रदेशको बजेट र प्रदेश प्रहरी ऐन, संघीय निजामती सेवा ऐनअनुरुप काम कारबाही नभएको सन्दर्भमा गृहमन्त्री खाणलाई जानकारी गराएको नेता कनौडियाले जानकारी दिए।
टोलीको माग सुनेपछि गृहमन्त्री खाणले आफूले टोलीले उठाएका समस्या समाधानका लागि सक्दो पहल गर्ने बताउनु भयो । ‘यहाँहरूले उठाएका समस्या समाधानमा सक्दो पहल हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रदेश र संघ मिलेरै काम गर्ने हो ।’ उनले टोलीले उठाएका विषयमा सरकार गम्भीर रहेको पनि बताए ।

















