सर्लाही । महिलालाई निर्घात कुटपिट गर्ने जनप्रतिनिधिका बिरुद्ध जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।सुकेपोखरीस्थित मानव सेवा आश्रम नामक संस्थाका अभिभावकसमेत रहेका हरिवन नगरपालिका वडा नम्बर ९ का सदस्य सुकदेव कार्कीले रेखा कार्की नामक महिलालार्ई निर्घात कुटपिट गरेको बिषयमा दिएको जाहेरी इलाका प्रहरी कार्यालय हरिवनले दर्ता नै नगरेको पीडितका आफन्तले गुनासो गरेका छन् ।
मानसिक सन्तुलनको औषधि सेवन गरिरहेकी रेखा कार्कीलाई सुकदेव कार्कीले कुटपिट गरेकाले जीउभरी निलडाम र चोट लागेको आमा चन्द्रकुमारीले बताइन् ।कात्तिक ८ गते राति रेखा कार्कीलाई कुटपिट भएपछि उनका आफन्त प्रहरीमा पीडक सुकदेवका बिरुद्ध जाहेरी दर्ताका लागि बिहीबार गएका थिए । तर इलाका प्रहरी कार्यालयका इन्चार्ज इन्स्पेक्टर भूपेन्द्र गिरीले जाहेरी दर्ता गरेनन् ।
इन्स्पेक्टर गिरीले ‘मानव आश्रमभित्रै कुटपिट भएको हो, जाहेरी दर्ता नगरौं’ भनेको पीडितका आफन्तले बताए ।रेखा कार्की मानसिक सन्तुलनको औषधि सेवन गरिरहेकी थिइन् । मानव सेवा आश्रममा बसेको अवस्थामा केही दिनदेखि औषधि सेवन गर्न छाडेकी थिइन् । उनका गतिबिधि अस्वभाविक भए आफन्तलाई खबर गर्नुपर्नेेमा आश्रमका अभिभावक रहेका सुकदेवले निर्घात कुटपिट गरेको आरोप छ ।
८ बर्षदेखि घरमै उपचार गराइरहेकी रेखाकुमारी कार्कीलाई आश्रम संचालक सुकदेव कार्कीले २०७८ कात्तिक ३ मा लगेका थिए ।घरमै उपचार गराइरहेकी रेखालाई कर गरेर सुकदेवले लगेको र २०७८ कात्तिक ८ मा उपचार गर्न सकेनौं लैजानुस् भन्दै फोन गरेपछि लिन गएको आमा चन्द्रकुमारी कार्कीले बताइन् । उनले भनिन्–घरमै औषधि सेवन गरी बसेकी छोरीलाई ठीक पारिदिन्छु भनेर सुकदेवले आश्रममा लगे, आश्रममा लगेर रोग ठीक पारिदिन्छु भनेका उनले निर्घात कुटपिट गरेर शरीरभर चोटैचोट पारिदिएका छन् । मेरी छोरीमाथि निर्घात कुटपिट भएको छ, शरीरभर कुटपिटका कारण चोटपटक र नीलडाम छन्, तर प्रहरीले जाहेरी लिन मानेन ।
प्रहरी पनि पीडक सुकदेव काफ्लेलाई बचाउन लागेको छ ।जनप्रतिनिधि भएर एक रोगी महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले बचाउन खोजेको चन्द्रकुमारी कार्कीले दुखेसो गरिन् ।मानसिक सन्तुलनको बिरामी महिलामाथि आक्रमण गर्ने जनप्रतिनिधिका बिरुद्ध जाहेरी दर्ता नगरेकोबारेमा इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर भूपेन्द्र गिरीले भने–‘कुटपिटमा परेकी महिलाका दाजु नेपाल प्रहरीकै सई हुनुहुन्छ । उहाँसँग समन्वय गरिरहेका छौं ।’
जाहेरी दर्ता नगरेका इन्स्पेक्टर गिरीले जनप्रतिनिधिको बचाउ गर्दै भने–‘ती महिलाले आफैंले लगाएको चोट हो कि भन्ने छ ।’ महिलाको ढाडदेखि मलद्वारसम्मै चोट लागेको छ । तिघ्रामा पनि चोट छ । महिला आफैंले ढाडमा चोट लगाउन सक्ने संभावना नै नहुने भए पनि इन्स्पेक्टर गिरीले आक्रमणकारी जनप्रतिनिधि सुकदेवलाई जोगाउन आफैंले चोट लगाएको कुतर्क गरेको पीडित रेखाकी आमा चन्द्रकुमारीले बताइन् ।

















