काठमाडौँ । प्रधानन्यायधीश चालेन्द्रशमशेर जबराले मन्त्रीमा आफ्नो कोटा माग गरेको विषयसँगै न्यायालयभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एसोसियसन, कानुनविद्, कानुन व्यवसायी सबैले तत्काल जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । तर, जबरा स्वयं भने कसैले माग्दैमा राजीनामा नदिने अडानमा अडिक रहेका छन् । प्रधानन्यायधीशमाथि सर्वत्ररूपमा अहिले प्रश्न उठिरहेको छ ।
सरकारले मन्त्रिपरिषद् विस्तार गर्दा जबराको जेठान नाता पर्ने गजेन्द्र हमाललाई मन्त्री बनाएपछि उनी विवादमा तानिएका थिए । गैरसांसद हमाललाई मन्त्री बनाएपछि सत्ता गठबन्धनसँगै नागरिक स्तरबाट सरकारको चर्को आलोचना भएको थियो । आलोचना थेग्न नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हमाललाई राजीनामा दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहलगत्तै हमालले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानन्यायाधीश जबरा थप विवादमा तानिँदै आएका छन् ।

















