काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा ( क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

दमको समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत वैद्यलाई अस्पतालमै भेटेर प्रचण्डले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
नेकपा ( क्रान्तिकारी माओवादी ) का वरिष्ठ नेता सीपी गजुरेलका अनुसार लामो समयदेखि दमबाट ग्रसित वैद्यलाई अप्ठयारो महसुस भएपछि नर्भिकमा भर्ना गरिएको हो ।

वैद्यलाई प्रचण्डको राजनीतिक गुरु मानिन्छ । माओवादी आन्दोलनमा लामो समय सहकार्य गरेका प्रचण्ड र वैद्य २०६८ सालयता अलग–अलग पार्टीमा सक्रिय छन् ।

















