काठमाडौं । चाडपर्व मनाउनका लागि काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिन खोजेको पाइएपछि ७ जनालाई सोमबार बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
परिचय पत्र नभएका उनीहरुले आफूलाई टिकट काउन्टरको कर्मचारी हुँ भन्दै अनाधिकृत रूपमा भाडा उठाइ रहेको अवस्थामा नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङ ऐशेलुखर्क-३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन् । नियन्त्रणमा लिइएका सातै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा राखिएको प्रहरीले जनाएको छ ।
सुर्खेत वीरेन्द्रनगरस्थित सिटी बसपार्कबाट यात्रुलाई नक्कली टिकट बेचेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
देउती नागरिक यातायात प्रालिको नक्कली लोगो र छाप बनाएर बसपार्क बाहिर यात्रुलाई टिकट बेचिरहेको अवस्थामा दैलेखको आठविस नगरपालिका–४ का २० वर्षीय प्रकाश चन्द र वीरेन्द्रनगर–६ का १९ वर्षीय सञ्जु सुनार पक्राउ परेका हुन् । उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले दुईवटा टिकट काटेर यात्रुलाई बेचेको पाइएको छ । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म एक हजार ८५० र सुर्खेत-जुम्ला दुई हजार रुपैयाँ भाडा उल्लेख गरेका छन् ।
प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिर जाने यात्रुहरुको बसपार्कमा भीड बढेको मौका छोपेर नक्कली टिकट काटेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
