काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) शैलेश थापा क्षेत्रीले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभदिपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराधहरु र सवारी दुर्घटना न्यूनिकरणतर्फ कार्यालयका प्रमुखहरुले थप चनाखो भई आआफनो जिम्मेवारी उत्कृष्ट ढंगले वहन गर्नुपर्ने बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडियो कन्फ्रेन्स मार्फत महानगरीय प्रहरी कार्यालय रानीपोखरी, ७ वटै प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश कार्यालयहरु, महानगरीय प्रहरी परिसरहरु र जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई निर्देशन दिँदै उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले चाडपर्वको समयमा जुवातास तथा मादकपदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाई चाडपर्वलाई उत्साह र उमंगका साथ मनाउने वातावरण सिर्जना हुने गरी सुरक्षा नीति तर्जुमा गरी काम गर्नुपर्ने बताउनुभएकाे हाे ।
कानून विरूद्धको कार्य गर्नेलाई यथाशीघ्र कानूनको दायरामा ल्याउन समेत उहाँले निर्देशन दिनुभयो । सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामुहिक रूपमा जनचेतनामूलक कार्यहरू सञ्चालन गर्नुको साथै प्रहरी हेल्प डेस्क समेतलाई क्रियाशील गराई आवश्यक पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफै चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भइ तोकिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमा नाकामा हुने विभिन्न चोरी, तस्करी तथा लुटपाट जस्ता घटनाहरूमा सिमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर भएर लाग्न निर्देशन दिनुभयो ।
समाजमा शान्ति सुरक्षा प्रत्याभूत गर्न सबै सुरक्षा निकायहरू बीच संयुक्त रुपमा समन्वय र समझदारी हुनुपर्ने चर्चा गर्दै उहाँले ऐन कानुनको परिधिभित्र रही मानवअधिकारको सम्मान गरी आआफ्नो काम कारवाही अगाडि बढाउनुपर्ने बताउनुभयो ।
