काठमाडौ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले बिहीबार नेपाल एपीएफ अस्पतालमा आयोजित एक कार्यक्रमका बीच महिला स्वास्थ्य सम्बन्धि कल्याणकारी योजनाको शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त कल्याणकारी योजनाको अफिस, महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण तथा ‘भी.आई.ए., भी.आई.एल.आई. जाँच, रोगको पहिचान तथा उपचार तालिम’को समुद्घाटन गर्नुभयो ।
संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिलाहरुको पाठेघरको उपचारमा सहयोग पुग्ने आधुनिक उपकरण खरिद वापत लागेको रु पाँच लाख बराबरको चेक त्यसैअवसरमा एपीएफ अस्पताललाई सहयोग रुवरुप हस्तान्तरण गर्नुभयो । सोअवसरमा संघकी अध्यक्ष खनालले उपचारत बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै महिला बिरामीहरुलाई फलफुल वितरण गर्नुभयो ।
देशभरका आर्थिक अवस्था कमजोर भएका पाठेघर सम्बन्धि समस्या भोगिरहेका दिदीबहिनीहरुको उपचारको लागि सशस्त्र प्रहरी परिवार महिला संघको सिफारिसमा नेपाल एपीएफ अस्पतालमा पाठेघरको क्यान्सरको पहिचान तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यकासाथ सो संघले उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।
कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले धन्यवाद ज्ञापनको क्रममा कोभिड–१९ महामारी पीडितको उपचारमा अस्पतालले प्रदान गरेको सेवाको विभिन्न क्षेत्रहरुबाट प्रशंसा भएको चर्चा गर्नुहुँदै अस्पतालमा थप भएको आधुनिक उपकरणहरुको प्राप्तीसँगै राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, स्थानीय सर्वसाधारण नागरिक तथा मानव सेवा आश्रमका बेसहारा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुको निःशुल्क उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !