जनकपुरधाम । पूर्व राज्यमन्त्री सञ्जय साह ‘टकला’लाई रामानन्द चोक बमकाण्ड मुद्दामा उच्च अदालतबाट राहत मिलेको छ ।उच्च अदालतले आईतवार गरेको फैसलामा साहलाई ज्यानमार्ने मुद्दामा ७ वर्ष कैद र षडयन्त्र रचेको ठहर गरिएको छ ।षडयन्त्र रचेको अभियोगमा कम्तिमा १० वर्षदेखि अधिकतम् १५ वर्ष सजायको प्रावधान छ ।
कानुन व्यवसायीहरुका अनुसार साहलाई न्युन्तम् भएपनि १० वर्षको सजाय हुनेछ । गत हप्तादेखि उच्च अदालतमा सो मुद्दाको बहस चलिरहेको थियो ।दुबै पक्षका कानुन व्यवसायीहरुको बहस शुक्रवार सकिएको थियो । सो मुद्दामा जिल्ला अदालत धनुषाले जन्मकैदको सजाय सुनाएको थियो ।उच्च अदालतबाट साहले राहत पाएपनि सो मुद्दाका अन्य दोषीहरुको हकमा जिल्ला अदालतकै फैसला सदर भएको छ ।
अन्य दोषीहरुको हकमा जिल्ला अदालतले गरेको फैसलालाई नै उच्च अदालतले सदर गरेको कानुन व्यवसायीहरुले जनाए । मिथिला राज्यको मागगर्दै रामानन्द चोकमा धर्ना बसेका प्रदर्शनकारीहरुको बीचमा शक्तिशाली बम विष्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो ।३२ जना घाइते भएका थिए ।उपचारका लागि घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाण्डु लगिएको थियो । मिथिला राज्य संघर्ष समितिको आव्हानमा रामानन्द चोकमा धर्ना चलिरहेको थियो ।
बम बिष्फोटबाट धर्ना बसेका ५ जनाको तत्कालै मृत्यु भएको थियो ।मृत्यु हुनेमा मैथिली नाट्य क्षेत्रकी लोकप्रिय कलाकार रञ्जु झाको पनि मृत्यु भएको थियो ।उनलाई नेपाल सरकारले जनसेवाश्री पदकका लागि सिफारिस गरेको छ । २०६९ सालको बैशाख १८ गते बिहान बम बिष्फोट भएको थियो ।अत्यन्त शक्तिशाली रहेको सो बिष्फोटले घटनास्थल वरिपरिको क्षेत्र हल्लिएको थियो ।
सो बमकाण्डपछि जनकपुरधाममा लामो समय सम्म भयत्रासको वातावरण रहेको थियो ।साँझ नहुँदै मानिसहरु घर फर्कने गरेका थिए । मिथिला राज्यका अभियानीहरु मध्ये संयोजक परमेश्वर कापडी, हाल वडा नम्बर ८ का अध्यक्ष रमेशकुमार ठाकुर लगायतको हालत गंभीर थियो । सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामापनि साहलाइ जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ ।सो मुद्दाको पेशी कात्तिक १० गते तोकिएको छ ।सिंघानिया हत्यामा पनि साहलाई मुख्ययोजनाकार रहेको प्रहरी प्रतिवेदनमा छ ।
जिल्ला अदालत धनुषाले उनलाई सो मुद्दामा जन्मकैदको सजाय र अन्य दोषीहरुलाई समेत सजाय तोकेको छ ।त्यस अतिरिक्त साहमाथि सम्पत्ती शुद्धिकरण आयोगको ३५ करोड बिगोको मुद्दा विशेष अदालतबाट फैसला भएको छ ।अख्तियार दुरुपयोग आयोग अनुसन्धानको मुद्दामापनि ३५ करोड बिगो र ५ साल कैदको सजाय विशेष अदालतले तोकेको छ ।
साहले ७ वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् ।उनी हाल काठमाण्डु कारागारमा छन् ।सिंघानिया हत्या सम्बन्धी मुद्दाको सुनवाई उच्च अदालत जनकपुरधाममा हुनेछ ।तर सम्पत्ती शुद्धिकरण र अख्तियारको मुद्दाको सुनवाई सर्वोच्च अदालतमा हुनेछ । उच्च अदालत जनकपुरधामले गरेको फैसला बिरुद्ध सरकारी वकिलको कार्यालयले अब सर्वोच्चमा पुनरावेदन गर्ने बताइएको छ ।उच्च अदालतमा जिल्ला अदालतको फैसला बिरुद्ध साहले मुद्दा गरेको थियो ।
धनुषाका कयौं युवाहरु हत्या लगायतका अपराधमा जेलमा रहेका छन् ।उनीहरुको मुद्दा जिल्लामा फैसला भएर उच्च अदालत सम्म पुगेको छ ।सर्वोच्चबाट अन्तिम फैसला नभए सम्म उनीहरुको मुद्दा चलिरहने कानुन व्यवसायीहरु बताउँछन् । साहले धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संविधान सभाको दुबै निर्वाचनमा विजयी भएका थिए ।

















