काठमाडौं । कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ ।
आईसीआईजेसहित विश्वभरका १ सय ४० बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासाअनुसार नेपालका दुई ठूला व्यापारिक घराना चौधरी ग्रुुप र गोल्छा अर्गनाइजेसन सम्बद्ध व्यक्तिसमेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो ।
आईसीआईजेले ९० देशका ३ सय ३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको खुलासा गरेको हो ।
प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे)को नेतृत्वमा १ सय १७ देशका ६ सय बढी पत्रकारको सहभागितामा गरिएको खोज हो । यो खोजमा १ सय ४० बढी सञ्चारमाध्यम र सञ्चार संस्था सहभागी थिए ।
प्यान्डोरा पेपर्सले खुलासा गरेको अफसोर खाता र सेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ ।
गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिदबिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाले गरेको अध्ययन रिपोर्टमा उल्लेख छ ।
अमेरिकाको वासिंटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे)ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको कागजातअनुसार प्रतिनिधि सभा सदस्य तथा अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स हेभन (कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको हो । ती कम्पनी विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा रहेको खोपकेले उल्लेख गरेको छ ।
खोपकेले अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि रहेको खुलासा गरेको छ । गोल्छा अर्गनाइजेसन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमै कम्पनी रहेको फेला पारिएको छ ।
नेपालिक्समा उल्लेख भएका नेपाली नागरिक अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनी पनि सञ्चालनमा रहेको तथ्य फेला पारिएको छ ।
यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायी– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ ।
गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न नपाइने व्यवस्था रहेको छ ।
‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐनविपरीत काम गरेमा ‘बिगोबमोजिम जरिमाना, ६ महिना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ ।
अफसोर दुनियाँले गरिबी बढाउने, असमानता निम्त्याउने अनि जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्याजस्ता थुप्रै समस्या निम्तने गर्छ ।
हालसम्म ५५ नेपाली तथा गैरआवासीय नेपालीले अफसोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्समार्फत् २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ ।
आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको विवरणअनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छ ।
‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एन्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ ।
प्यान्डोरा लिक्सअनुसार, चौधरीकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाणको नाममा समेत ब्रिटिस भर्जिन आइल्यान्डमा लगानी भेटिएको छ । अर्थात् ब्रिटिस भर्जिन आइल्यान्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनीसहित परिवारका पाँच जना सदस्यको लगानी रहेको भेटिएको छ । सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ । अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ ।
गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी रहेको पनि पाइएको छ । फल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो । उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिएको खोपकेको खोजमा देखिएको छ ।
जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार सो कम्पनीमार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्यान्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन् ।
सन् २०१९ मा खोपकेले सार्वजनिक गरेको नेपालिक्स अनुसार ‘ट्याक्स हेभन’ मुलुक ब्रिटिस भर्जिन आइल्यान्डबाट सबैभन्दा पहिला लगानी भित्र्याउनेमा गोल्छा अर्गनाइजेसन परेको देखिएको थियो ।
लोकमान्य गोल्छा नेपाल चेम्बर अफ कमर्सका मानार्थ उपाध्यक्ष हुन् । नेपाल चेम्बर अफ कमर्सको वेबसाइटमा उल्लेख भएको विवरणअनुसार हाल हंसराज हुलासचन्द एन्डको, हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राट्सलगायतका कम्पनीहरू सञ्चालनमा छन् ।cij nepal बाट
फेसबुकबाट तपाईको प्रतिक्रिया !