काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताएकी छन् । शुक्रबार (आज) नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्वयुवराज्ञी शाहले राष्ट्रलाई कसरी अघि बढाउने ? भनेर एकपटक सोच्ने बेला आएको बताएकी हुन् ।
उनले भनेकी छन्, ‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौं । मनन् गरौं कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौं ? आय आर्जनको लागि दीगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सोमार्फत् युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्य मध्येको एक हो ।’
त्यस्तै उनले युवा र महिलाहरूलाई गरिबी निवारण गर्नको लागि नयाँ तौर–तरिकाको अन्वेषण आवश्यक रहेको पनि बताइन् । कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताउँदै पूर्वयुवराज्ञी शाहले थप भनिन्, ‘कृषि क्षेत्रमा रहँदै आएका किसानले भोगिरहेका समस्याको समाधान गरिनुपर्छ । पर्यावरण सन्तुलनको लागि हरित प्रयोग, नेपाल र नेपालीको लागि स्थानीय लक्ष्य, नेपाली वन, नेपाली वस्तु किन भन्ने जस्ता नाराहरू आज अझ बढी यथार्थ भएको छ ।’
त्यस्तै विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर साझा भविष्यको परिकल्पनाका साथ सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !