काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मन्त्री आउनुअघि नै डिभिजन र आयोजना प्रमुखहरुको सरुवा गरेका छन् । उनले मंगलबार १० उपसचिव(डीई)हरुको सरुवा गरेका छन् । सरुवामा बरिष्ठता र कार्यक्षमता भन्दा पनि आर्थिक लेनदेनलाई आधार मानी गरिएको गुनासो छ । बरिष्ठ डीईहरुलाई करिडोरमा राखी कनिष्टहरुलाई आकर्षक आयोजनामा सरुवा गरिएको छ ।
सडक विभाग अन्तर्गत सधैं आकर्षक कार्यालयमा बसी अकूत सम्पत्ति कमाएकाहरुलाई पुनः झन् आकर्षक कार्यालयमा सरुवा गरिएको छ । सचिव श्रेष्ठले बरिष्ठता र कार्यक्षमता भन्दा पनि बजेटको आकार हेरी घुसको दररेट तय गर्दै सरुवा गरेका छन् । स्रोतका अनुसार २५ देखि ४० लाखको दररेट लिंदै सरुवा गरिएकोे छ । महानिर्देशक हुँदादेखिका सचिव श्रेष्ठका सदाबहार बिचौलियाले नै रेट तय गरिसकेपछि मंगलबार सरुवा गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको बदनाम गर्दै बालुवाटारबाट आएको नाम भन्दै घुस लेनदेन गरी सरुवा गरेको आरोप सचिव श्रेष्ठमाथि लागेको छ ।
काठमाडौं सडक डिभिजनको प्रमुखका लागि बरिष्ठ र क्षमतावान डीई गुरु अधिकारी लागे पनि सडकमा सधैं तर मार्ने ठाउँमा बसेका नारायण निउरेलाई जिम्मेवारी दिइएको छ । अधिकारीले दररेट अन्ुसार बुझाउन असमर्थता जनाएपछि निउरेको टेण्डर बुझेर उनलाई लगिएको छ । निउरे मध्यपहाडी धुलिखेल, दैलेख हुँदै उनी सबैभन्दा बढी दररेट बुझाएर काठमाडौं डिभिजन प्रमुखमा जान सफल भएका छन् ।
सडकमा सधैं आकर्षक कार्यालयमा रम्दैआएका मेघराज मरासिनीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतबाट धुलिखेल सरुवा गरिएको छ ।
त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख डीई नारायणदत्त भण्डारीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतमा पुर्याइएको छ । अर्का डीई अंगलाल रोकायलाई योजना पुल योजनाबाट सडक विभाग अन्तर्गत काज सरुवा लगिएको छ ।
त्यसैगरी डीई केदारप्रसाद नेपाललाई भौतिक मन्त्रालयबाट पुल योजना मध्य क्षेत्र नम्बर २ मा पठाइएको छ । भौतिक मन्त्रालयका डीई किरण कार्कीलाई भौतिक मन्त्रालयबाट नारायणगढ–मुग्लिङ सडक आयोजनामा लगिएको छ । नारायणगढ–मुग्लिङ सडकका अमृतमणि रिमाललाई सडक विभागको पुलमा खेदिएको छ ।
कान्ति राजमार्ग सडक आयोजनाका ज्ञानेन्द्रकुमार झा भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं सडक डिभिजनका प्रमुख कुवेर नेपालीलाई काठमाडौं चक्रपथ सडक विस्तार आयोजनामा पठाइएको छ । ललितपुर डिभिजनका अर्जुन सुवाललाई एक बर्ष नपुगी चक्रपथ सडक विस्तार योजनाबाट सडक विभाग पुलमा लगिएको छ । मध्यपहाडी लोकमार्ग काभ्रेका योजना प्रमुख नारायण निउरेलाई काठमाडौं डिभिजन प्रमुखमा ल्याइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !