काठमाडौं । नेपाली आर्मी वार कलेज नगरकोटमा सञ्चालित प्रशिक्षणका उच्च अधिकृतहरूले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् ।
सो अवसरमा शिक्षार्थी अधिकृतहरूसँगको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना र आम नागरिकको सेवा, सुरक्षा तथा उद्धार कार्यमा कटिबद्ध भई कार्यक्षेत्रमा अहोरात्र क्रियाशील रहँदै उत्कृष्ट कार्यसम्पादन गर्दै आइरहेको उल्लेख गर्दै राज्यप्रदत्त विविध जिम्मेवारी निर्वाहको क्रममा सुरुवात देखि नै विविध तालिम तथा स्रोतसाधन व्यवस्थापनमा नेपाली सेनाबाट महत्त्वपूर्ण सहयोग प्राप्त भइरहेको उल्लेख गरेका थिए ।
उनले यस खालका अन्तरक्रिया तथा भ्रमणले एक आपसमा सुमधुर सम्बन्ध कायम राख्दै आगामी दिनहरूमा कार्यक्षेत्रमा कार्यसम्पादन गर्ने क्रममा सहजता आउने विश्वास व्यक्त गर्दै राष्ट्र र आम नागरिकको सुरक्षा, विपद् व्यवस्थापन तथा पीडितको उद्धार लगायतका कार्यहरू सबैको सामूहिक प्रयासले विशिष्ट तवरले सम्पादन गर्न सकिने बताए ।सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपालको बारेमा शिक्षार्थी अधिकृतहरूले राखेको विविध जिज्ञासाहरूबारे प्रष्ट पारेका थिए ।
त्यसै अवसरमा उनले उक्त तालिमका सिनियर ईन्स्ट्रक्टर सहायक रथी प्रेमध्वज अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए । त्यसअवसरमा विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयस्थित केन्द्रीय आदेश कक्षको कामकारबाही तथा सो कक्षले हाल प्रयोगमा ल्याइरहेको सूचना तथा सञ्चार प्रविधिबारे समेत शिक्षार्थी अधिकृतहरूले जानकारी हासिल गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !