विराटनगर । विराटनगर भन्सार कार्यालयबाट पुनः चोरीतस्करीका सामान भित्रन थालेको छ । भन्सार जाँचपासमै सेटिङ गरेर छोडिएको ३४ लाख मूल्य बराबरको कपडा बोकेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो ।यस अगाडी समेत यस्तै प्रकृतिका मालवस्तु बोकेका गाडी सशस्त्रले नियन्त्रणमा लिएको थियो । पछिल्लो समय बुधबार सशस्त्रले जाँचपास गरेर भन्सारबाट निस्किएको अर्को गाडी नियन्त्रणमा लिएको छ ।
भिसिटिएस (भेहिकल्स कन्साइन्मेनट एण्ड ट्र्याकिङ सिस्टम) मा मालवस्तु र गाडीको विवरण उल्लेख नगराईकन जाँचपास गरिएको ट्याक्टर सशस्त्रले पक्राउ गरेको छ । ३४ लाखको कपडा बोकेको ट्याक्टर र सामान सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) विराटनगरले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको ट्याक्टर र सामान अनुसन्धानको लागि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । भीसीटीएस नम्बर उल्लेख नभएपछि प्रहरीले चालक भारत जोगवनीका ३२ वर्षीय पंकज यादवलाई पनि नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरमा लोड गरिएको ३४ लाखको लत्ताकपडा र ट्याक्टर चालकसहित नियन्त्रणमा लिएर हिंजो साँझ आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले सशस्त्रले बुझाएको ट्याक्टरको नम्बर भीसीटीएस प्रणालीमा उल्लेख नभएको बताए ।
यसअघि पनि विराटनगर भन्सार कार्यालयका कर्मचारी, ऐजन्टर र एजेन्ट प्रतिनिधीको मिलोमतामा १८ लाख रुपैयाँ राजस्व छली गरेको पुष्टि भएको थियो । राजस्व अनुसन्धान कार्यालय इटहरीले कपडा र विभिन्न सामान बोकेको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान पुरा गरेपछि १८ लाख मुल्य बरावरको राजस्व छलि गरेको पुष्टि भएको थियो ।
राजस्व छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दिपक खड्काको नेतृत्वमा आएको टोलीले विराटनगरदेखि विभिन्न समाग्री बोकेको को २ त ६८११ र बीआर ५० जी ५०५३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको थियो ।पछिल्लो सामान भने गुलाब साहले भित्र्याएको बुझिएको छ । जया इम्पेक्सले आयात गरेको सामान एजेन्टका प्रतिनिधि मन्टु साहले जाँचपास गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !