काठमाडौं । प्रहरीमा लेखापालहरुको सरुवा अवधि ५ वर्ष गर्न लागिएको छ। लेखापाल सरुवाका लागि तत्कालीन उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा पोलिस कोअर्डिनेसन कमिटी (पीसीसी) ल्याइएको थियो । यो नीतिअनुसार आठ वर्षसम्म लेखापाल रहने व्यवस्था भएकोमा पछि ६ वर्षमा थियो ।
असईदेखि इन्स्पेक्टरसम्मका अधिकारीहरु लेखापाल बन्नसक्ने र एक पटक तालिम गरेर जिम्मेवारी सम्हाल्न थालेको ६ वर्षसम्म मात्रै लेखामा राख्नसक्ने व्यवस्था छ । हाल प्रहरीमा ५ वर्ष अवधि पुगेका ५६ जना, ४ वर्ष अवधि पुगेका ३० जना, ३ वर्ष अवधि पुगेका ५८ जना, २ वर्ष अवधि पुगेका १५२ जना र १ वर्ष अवधि पुगेका १२९ जना लेखापालहरू कार्यरत छन्, जसमा १ प्रहरी नायब उपरीक्षक, १३ जना प्रहरी निरीक्षक, २५७ जना प्रहरी नायब निरीक्षक र २१५ जना प्रहरी सहायक निरीक्षक लेखापालहरू छन् ।
प्रहरीमा आर्थिक वर्ष सकिएसँगै हुने लेखापालहरुको सरुवा साढे २ महिना बित्दा पनि हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा, राजनीतिक हस्तक्षेप र कार्यविधि संशोधन लगायत कारणले लेखापालको सरुवामा ढिलाइ भइरहेको हो । प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार हाल लेखापाल सरुवाको कार्यविधि संशोधनको काम चलिरहेकाले सरुवामा ढिलाइ भएको हो । नेपाल प्रहरीमा नयाँ आर्थिक वर्षको सुरुवातसँगै लेखापालहरुको सरुवा हुन्छ । दुई वर्ष अवधि पुगेका सबै लेखापालको सरुवा गर्ने मापदण्ड छ । सरुवामा भएको अत्याधिक चलखेलका कारण प्रहरी महानिरीक्षकले सरुवाको निर्णय गर्न सकेको छैनन् ।
प्रहरी कार्यालयका लागि आवश्यक एक वर्षको एकमुष्ट बजेट चलाउन पाउने भएकाले ठूलो बजेट आउने कार्यालयमा सरुवा हुन लेखापालको सरुवामा प्रतिस्पर्धा हुने गरेको छ । त्यसका लागि शक्तिकेन्द्रबाट लबिङ गराउने पनि हुन्छन् । लेखापाल सरुवाको लागि एउटा सूची तयार गरिसकेको थियो । तर, नयाँ सरकार आउनेबित्तिकै सरुवाको सेटिङ बिग्रिँदा पनि ढिलाइ भइरहेको छ । हालै सरकार परिवर्तन भएकाले लेखापालको सरुवामा राजनीतिक चासो पनि छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !