विराटनगर। विद्युत महशुल भुक्तानी नभएपछि लाइन काट्न गएका विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी होटल सञ्चालकबाट कुटिएका छन् ।बुधबार होटल इस्टर्नस्टारको विद्युत लाइन काट्न गएका कर्मचारीलाई होटल सञ्चालक समितिका अध्यक्ष तुलसी पोखरेलले कुटपिट गरेका पीडितको भनाइ छ ।होटलले ३ लाख १४ हजार विद्युत महशुल बझुाएको छैन ।
महशुल नबुझाएपछि लाइन काट्न बुधबार बिहान प्राधिकरणका इलेक्ट्रिसियन विराटनगर–३ घर भएका ५७ वर्षीय तारानाथ खतिवडा, प्राधिकरणका सहयोगी विराटनगर-५ का सुनील हरिजन र चालक विराटनगर-४ का जितबहादुर सुनुवार होटलमा पुगेका थिए ।लाइन काट्न अवरोध गर्दै सुरक्षागार्ड र कर्मचारीको सहयोगमा पोखरेलले प्राधिकरणका इलेक्ट्रिसियन खतिवडामाथि कुटपिट गरेको उजुरी आएको प्रहरीले जनाएको छ । भाग्न खोज्दा होटलको गेट बन्द गरेर बन्धक बनाएको कर्मचारीको गुनासो छ । आधा घण्टाभन्दा बढी होटलमै थुनेपछि प्रहरी र प्राधिकरणका कर्मचारीले उनीहरुलाई निकालेका थिए ।
प्राधिकरणका विराटनगर प्रमुख रोशन खड्काले होटलले ३ लाख १४ हजार बिल नतिरेको बताए । त्यसमा २५ प्रतिशत जरिवाना थप जरिवाना लाग्छ ।कुटपिटको उजुरी परेपछि प्रहरीले दुवै पक्षलाई बोलाएको छ । खड्काले जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको बताए ।आरोपी पोखरेल प्रदेश १ की तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईका प्रमुख सल्लाहकारसमेत हुन् ।
घटनाबारे प्रतिक्रिया लिन टेलिफोन गर्दा उनको मोबाइल स्वीच अफ छ । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् ।विज्ञप्तिमा दोषीमाथि कारबाहीको माग गरिएको छ । प्राधिकरणका कर्मचारीले दोषीमाथि कारबाही नभएमा सबै काम कारबाही ठप्प बनाउने चेतावनी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !