काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले)ले बैठक बहिष्कार गर्ने भएको छ ।आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।संसदको गतिरोध अन्त्यका लागि छलफल गर्न लागि प्रधानमन्त्री देउवाले बालुवाटारमा सर्वदलीय बैठक डाकेका छन्।
बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने बिरामी भएर अस्पताल भर्ना भएका छन्।नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाको छलफल भएपछि सर्वदलीय बैठक बोलाइएको हो। माओवादी केन्द्रले बैठक बोलाउन आग्रह गरेको थियो।
बैठकमा माधव नेपालको पार्टी पनि सहभागिता एमालेको लागि आपत्तिको विषय भएको बताइएको छ। नेपालको पार्टीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हुनाले पनि एमाले सर्वदलीय बैठकमा सहभागी नहुने भट्टराईले बताए। वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा एमालेको असमति रहेकोले बैठकमा नजाने उनले बताए ।
‘समाजवादीलाई एमालेले पार्टीको मान्यता दिएको छैन। एमाले अध्यक्ष ओलीले यसअघि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठकसमेत बहिस्कार गरेका थिए। संसदमा एकीकृत समाजवादीको उपस्थितिलाई लिएर एमालेले निरन्तर अवरोधसमेत कायम गर्दै आएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !