काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण गृहनगर भैरहवा र मणिग्राममा बारम्बार जाने गर्दछन् । तर रुपन्देहीको बुटवलमा भने उनको आउजाउ पातलो हुँदैगएको छ । २०७३ को स्थानीय र २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि खाण बुटवल जान छाडेका छन् । अर्को अर्थमा भन्दा उनी बुटवलमा कांग्रेस पंक्तिमै बहिस्कृत जस्तै छन् ।
२०७६ बैशाखदेखि कांग्रेसले सुरु गरेको १ बर्षे जागरण अभियानका क्रममा पनि मन्त्री खाण मणिग्राम र भैरहवा गए तर बुटवलमा गएनन् । उनलाई बुटवलका कांग्रेसले नबोलाएकाले उनी जागरण कार्यक्रममा मणिग्राम र भैरहवामा मात्र गएका थिए । २०७४ सम्म हरेक १५ दिनमा बुटवल पुग्ने गरेका मन्त्री खाण त्यसपछि जान छाड्नुको चुनावमा भएको घातप्रतिघातसँग जोड्न थालिएको छ । बुटवलको ज्योतिनगर र अन्य क्षेत्रमा तिनाउ नदीले गरेको कटान पीडितलाई भेट्न पनि गृहमन्त्री खाण गएनन् ।
२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नभई समानुपातिकमा सुरक्षित बसेर सांसद भएका खाणले उक्त निर्वाचनमा कांग्रेसकै उम्मेदवार हराउन भूमिका खेलेको आरोप पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाउँदैआएको छ । रुपन्देही—२ मा कांग्रेसका उम्मेदवार युवराज गिरी खाणको असहयोगले एमाले उपमहासचिव पौडेलसँग २२ हजार ६३ मतान्तरले पराजीत भएका थिए । पौडेल ४४ हजार ९ मत ल्याएर बिजयी भएका थिए । गिरीले २१ हजार ९ सय ४६ मत प्राप्त गरेका थिए ।
खाणले पार्टीका उम्मेदवार गिरीलाई सहयोग नगर्दा पौडेल आधाभन्दा बढी मतले बिजयी हुन पुगेकोमा खाण बिरोधी पक्ष रुष्ट रहँदैआएको छ । गिरी केन्द्रमा रामचन्द्र पौडेल समूहका भए पनि जिल्लामा खाणकै निकट नेता मानिन्छन् । तर आफ्नै निकट भए पनि उनलाई सहयोग नगरेको आरोप मन्त्री खाणले खेपेका छन् ।
बुटवल उपमहानगरपालिकाको निर्वाचनमा खेलराज पाण्डेलाई मेयरमा पराजीत गराउने भूमिका खेलेको आरोप खाणमाथि लाग्दैआएको छ । पाण्डे रामचन्द्र पौडेल समूहका नेता हुन् । पाण्डे नेपाली कांग्रस बुटवल उपमहानगरपालिकाका सभापतप हुन् ।
यसैबीच, मोतिपुर औद्योगिक क्षेत्र निर्माणको बिरुद्ध स्थानीय भड्काउने तत्कालीन अर्थमन्त्री बिष्णु् पौडेलमाथि ढुंगा हान्ने काममा खाणको हात रहेको आरोप छ । बिष्णु पौडेल निकटहरुले एमालेकै घनश्याम भूसालमाथि मोतिपुरमा स्थानीय उतारेको आरोप लाए पनि खेल भने खाणको रहेको विस्तारै खुल्न थालेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !