एजेन्सी । तालिबानले नाऊहरूले दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको आफूहरूको व्याख्याको उल्लङ्घन गरेको बताउँदै अफगानिस्तानको हेलमन्ड प्रान्तमा त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाएको छ। उक्त नियम तोड्ने जोकोहीलाई सजाय दिइने बताइएको छ।
राजधानी काबुलका केही नाऊहरूले आफूहरूलाई पनि त्यस्तै निर्देशन दिइएको बताएका छन्। उक्त निर्देशनले विगतमा जस्तै उक्त समूहको कडा शासन फर्किएको सङ्केत गरेको छ।
गत महिना सत्ता आफ्नो हातमा लिएयता तालिबानले विपक्षीविरुद्ध कडा कारबाही गर्दै आएको छ।
शनिवार तालिबानका लडाकुहरूले चारजना सन्दिग्ध अपहरणकारीहरूलाई गोली हानेर मारिदिएका थिए र उनीहरूले शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो।
दक्षिणी हेलमन्डका सैलुनहरूमा टाँसिएका सूचनामा तालिबान अधिकारीहरूले नाऊहरूले कपाल र दाह्री काट्दा शरिया कानुन मान्नुपर्ने उल्लेख गरिएको छ।
”कसैसँग पनि गुनासो गर्ने अधिकार छैन,’ बीबीसीले देखेको सूचनामा उल्लेख छ। ‘लडाकुहरू आइरहन्छन् र हामीलाई दाह्री मिलाउन रोक्न निर्देशन दिइरहन्छन्,’ काबुलस्थित एक नाऊले भने।
सहरकै ठूलो सैलुनका सञ्चालन समेत रहेका एक नाऊले आफूलाई सरकारी अधिकारी बताउने कसैले फोन गरेको बताए। उनीहरूले ती नाऊलाई ‘अमेरिकी शैली पच्छाउन बन्द गर्न’ भने र कसैको पनि कपाल मिलाउने वा काट्ने कार्य नगर्ने भने।
केही दिनअघि मात्रै तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका थिए।
हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय ‘सुरक्षाका लागि आवश्यक’ भएको समाचारसंस्था एपीलाई बताएका हुन्।
तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताए। सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !