काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विभाजन ल्याउन फेरि पनि प्रयास हुनसक्ने बताएका छन् । एमाले उपत्यका कमिटीले विहीबार काठमाडौंमा गरेको भेलामा ओलीले एमालेमा विभाजन ल्याउने प्रयास हुन सक्ने भन्दै सजक हुनुपर्ने बताएका हुन् ।
उनले एमालेलाई सिध्याउन खोजेपनि अझै सशक्त र एकताबद्ध भएर अघि बढ्ने धारणा राखे । अध्यक्ष ओलीले शपथ लिएको ७५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता दिन नसकेको भन्दै गठबन्धन दलको आलोचना गरे ।
उनले भविष्यमा एमाले सरकारमा आएमा तीन दिनभित्र सरकार बनाउने दावी पनि गरे । ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको बिकासमा वर्तमान सरकारले जस लिन खोजेको धारणा राखे ।
उनले आफू नेतृत्वको सरकारले देशको बिकासका लागि गरेको काम देख्न नसकेर हटाइको उल्लेख गरे । अध्यक्ष ओलीले माधव नेपालको पार्टीले संरचना निर्माण गरेको सुनेको भन्दै संरचनामा बस्ने मान्छेको अभाव हुने टिप्पणी गरे ।
