काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दशैं, तिहार र छठलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ ।काठमाडौं प्रहरी प्रमुख अशोक सिंहका अनुसार चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतिलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो ।उनका अनुसार राजधानीको सुरक्षा योजना मुलतः ४ कुरालाई ध्यानमा राखेर बनाइएको छ ।
‘पहिलो राजधानीको सुरक्षा व्यवसथा त्रुटिरहित, भरपर्दो र विश्वसनीय बनाएर जनजीवना सामान्य बनाउने र दोस्रो देशविदेशबाट घर फर्किएर राजधानी हुँदै गन्तव्यमा जाने यात्रुलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउनु हाम्रो उद्देश्य हुनेछ’ सिंहले अनलाइनखबरसँग भने, ‘तेस्रो र चौथो कुरालाई कुनै पनि किसिमको असामाजिक, अप्रिय र अपराधिक घटना हुन नदिन छुट्टाछुट्टै रणनीति बनाएर प्रहरी परिचालन गरेका छौं ।’
उनका अनुसार यो सुरक्षा योजना १ असोजदेखि कार्यान्वयनमा ल्याउन सुरु गरिसकिएको छ । योजनाअनुसार ३ हजार ३०२ जना जनशक्ति राजधानीमा परिचालित हुनेछन् । प्रहरीका अनुसार दशैंको समयमा चोरी, जुवातास, गुण्डागर्दी, पाकेटमारी जस्ता गतिविधि हुनसक्छन् । त्यससलाई लक्षित गरेर मानिसहरुको भिडभाड हुनसक्ने स्थानमा विशेष टोली खटाइएको छ ।
प्रहरीले खशी, कुखुरा किनबेच हुने बजारमा सुरक्षार्थ ५ टोली परिचालन गरेको छ । राजधानीका मन्दिरहरुमा नियमित सुरक्षाबाहेक १२ वटा टोली परिचालित छ ।
‘५ वटा स्टइकिङ, २२ वटा एम्बुसिङ र निगरानी र ४६ वटा क्रस चेकिङ पनि राखेका छौं’ सिंह भन्छन्, ‘टिकट काउन्टरमा ११ वटा टोली परिचालन गरेका छौं ।’ गाडीमा लुटपाट हुनसक्ने भएकाले सादा पोशाकको टोली खटाइसकिएको उनले बताए ।सिंहका अनुसार ३६ वटा टोली ‘कर्डन एण्ड सर्च’ अपरेशनका लागि राखिएको छ ।
वृत्तका आधारमा क्षेत्र भिाजन गरेर २४ मोबाइल टोली परिचालत गरिएको छ, तत्काल रेस्पोन्सका लागि ७६ वटा मोटरसाइकल टोली राखिएको छ ।सिंहका अनुसार राजधानी प्रवेश गर्ने नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ । ‘प्रतिबन्ध वस्तु आउनसक्ने भएकाले कुकुरसहितको टोली राखिएको हो’ उनले भने, ‘रिङरोडभित्र र बाहिर छुट्टाछुट्टै तरिकाले सुरक्षाकर्मी परिचालन गरिएको छ ।’प्रहरीका अनुसार अपराध महाशाखासँग समन्वय तथा सहकार्यमा सादा पोशाकको टोली समेत खटाइएको छ । अपराध बढी हुने सम्भावित स्थानमा सादा पोशाकको टोली परिचालन गरिएको छ ।
राजधानीबाट बाहिर जाने यात्रुलाई सहजताका लागि काठमाडौंका ९ स्थानमा सहायता कक्ष राखिएको छ । काठमाडौं प्रहरीका अनुसार सुन्धारा, गौशाला, चाबहिल, नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी र बालाजुमा ती हेल्प डेस्क राखिएको हो ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चेतनामूलक पर्चा, पम्प्लेट र माइकिङ पनि ३५ स्थानमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्राफिक एफएममार्फत पनि जनसचेतनामूकल कार्यक्रम प्रशारण भइरहेको छ ।अपराध हुन नदिने वैज्ञानिक उपकरणको प्रयोग समेत भइरहेको प्रहरी प्रमुख सिंहले बताए । काठमाडौंका मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थान, काठमाडौं प्रवेश गर्ने नाकामा क्लोज सर्किट (सीसी) क्यामराबाट निगरानी भइरहेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !