धनगढी । प्रदेश २ का नेपाल प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारको नाममा पैसा उठाउने एक जना महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा प्रहरी विद्यालय जिंगडिया गरुडामा कार्यरत शिक्षिका सुशीला थापा रहेकी छिन।
थापालाई सर्लाही प्रहरीको सहयोगमा प्रहरी विद्यालय गरुडाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी विनोद घिमिरेले बताएका छन्। हाल थापा नियन्त्रणमा रहेको तथा घटना बारे आवश्यक अनुसंधान भैरहेको एसपी घिमिरेले जानकारी दिएका छन्।
शिक्षिका सुशीला थापाले डीआईजी उमेश रञ्जीतकारको नाम बदनाम गराउने काम गर्दै हिँडेकाले उनीमाथि अभद्र व्यवहार मुद्दा चलाउने तयारी भइरहेको एसपी घिमिरेले बताएका छन्। यसैबीच डीआईजी घिमिरे प्रहरी विद्यालय गरुडा पुगेर पक्राउ परेकी महिला र एसपी घिमिरेसँग घटनाको वास्तविकता बारे बुझेका छन्।
गरुडास्थित प्रहरी विद्यालयमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै थापाले पर्सामा एक जना उदेश पाण्डेसँग ६ लाख रुपैयाँको बार्गेनिङ गरेको अडियो केही दिन अघि सार्वजनिक भएको थियो।
पाण्डेले जागिर नपाएको रिसमा महिला शिक्षिका सुशीला थापालाई सिकाएर मलाई बदनाम गराउने षड्यन्त्र गरेको डीआईजी उमेश रञ्जीतकारले बताएका छन्। प्रहरी विद्यालयको अध्यक्ष जिल्लाकै एसपी हुने र आरोपी महिलासँग आफ्नो चिनजानसमेत नरहेको डीआईजी रन्जित्कारले गुनासो गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !