काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफ्नो राजनीतिक जीवन सिध्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग भएको टिप्पणी गरेका छन्। बालुवाटारको ललिता निवास जग्गा प्रकणरमा आयोगले मुद्दा चलाएको डेढ वर्षपछि पहिलोपल्ट सार्वजनिक रुपमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
बुधबार पत्रकार सम्मेलन गरी गच्छदारले आफूमाथि सुनियोजित रुपमा प्रहार भएको बताए। उनको भनाइ थियो, ‘ललिता निवासमा मलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइयो। मेरो ५० वर्ष लामो राजनीतिक जीवन समाप्त गर्ने खेलमा अख्तियार प्रयोग भयो भन्नुपर्दा अतिशयोक्ति हुँदैन।’
आयोगले २०७६ माघ २२ गते ललितानिवास जग्गा किनबेच प्रकरणमा पूर्व मन्त्री गच्छदारलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। केपी शर्मा ओलीको सरकार रहँदासम्म सार्वजनिक नभएका उनी नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि गत असार ३० गते विशेष अदालतमा हाजिर भएका थिए।
अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो। उनले आफू धरौटीमा रिहा भएर न्याय पाएको बताएका छन्। उनले थपे, ‘म विगत डेढ वर्षसम्म एक दिनपछि सार्वजनिक काम र मिडियामा आइनँ। अदालतले धरौटीमा रिहा गरेर न्याय दिएपछि मात्रै सावर्जजनिक भएँ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !