काठमाडौं । रोहिङ्ग्या शरणार्थीलाई प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी)ले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २ जना म्यान्मारका नागरिक छन् । १ जना बंगलादेशी नागरिक रहेको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशमा शरण लिएर बसेका रोहिङ्ग्या जातिका व्यक्तिलाई नेपालको बाटो भएर युरोप र अमेरिका पुर्याइदिन्छु भनेर प्रलोभनमा पारी नेपाल पुर्याएको आरोपमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन र २७ वर्षीय शफिक आलम तथा बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्ला रहेको सीआईबीका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।
उनीहरूले बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुगेपछि अमेरिका जान पाइने र नेपालमा बस्दा मासिक भत्ता समेत पाइने भनेर प्रलोभनमा पार्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
रोहिङ्ग्या पुरुषलाई महिना ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपियाँ भत्ता पाइने प्रलोभनमा पारेर यो गिरोहले नेपाल ल्याउने गरेको थियो ।सुविधाहरू पाइनेभन्दै भारतको बाटो हुँदै बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल ल्याउने गरेको सीआईबीले जनाएको छ ।
तीन जनाको गिरोहले १ जना व्यक्तिबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिने गरेका थिए ।सीआईबीले काठमाडौंको कपनसहितका ठाउँमा रहेका रोहिङ्ग्या शरणार्थीका शिविरमा नयाँ व्यक्तिहरू आउन थालेको सूचना पाएपछि अनुसन्धान शुरु गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !